२ हप्ता अघि
२0८१ कार्तिक २२ बिहीबारउदयपुर, कात्तिक २२
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा उदयपुरका रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाउने क्रम सुरु भएको छ । त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्षका लागि नेकपा (माओबादी केन्द्र)ले छनौट गरिसकेको जनाएको छ भने नेपाली काँग्रेस र नेकपा (एमाले) छनौटको अन्तिममा पुगेका छन् ।
माओबादीले त्रियुगा १२ मा नवीनकुमार राईलाई उठाउने गरी एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरेको पार्टी नगर इन्चार्ज बिमल किरातीले बताए । राई ०७९ को स्थानीयतह निर्वाचनमा माओबादीबाट वडाध्यक्षमा विजयी काँग्रेसका चुडाराज काफ्लेसँग ३५ मतले पराजित हुन् ।
काफ्लेले ४ सय ३९ मत पाएर विजयी हुँदा राईलाई ४ सय ४ मत परेको थियो । पार्टी नगर कमिटी सदस्य राई वाईसिएलका पूर्व नेता तथा पार्टीनिकट भूपु प्रहरी संगठनमा क्रियासिल छन् ।
त्यसैगरी बेलका ९ मा माओबादीले भरत घिमिरेको एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष मनोज तामाङले बताए । विद्यालयतहदेखि नै राजनीति थालेका घिमिरे जनयुद्धकालीन कार्यकर्ता तथा पार्टी नगर कमिटी सचिवसमेत हुन् । पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी)का पूर्व केन्द्रीय सचिवसमेत भईसकेका घिमिरे स्थानीय बरपिपल मावि विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्षसमेत हुन् ।
त्यसैगरी काँग्रेसले त्रियुगा १२ मा कार्यवाहक वडाध्यक्ष अनिता थापा र मृतक वडाध्यक्ष काफ्लेका छोरा सञ्जिवमध्ये एकजनालाई वडाध्यक्ष उठाउने भएको छ । ०७९ को निर्वाचनमा महिला सदस्य विजयी थापा काफ्लेको निधनपछि कार्यवाहक वडाध्यक्षको रुपमा क्रियासिल छिन् । काफ्ले भने निर्माण व्यवसायी हुन् । उनलाई बावुको विरासत थमाउन उम्मेदवार बनाउने संभावना छ ।
दुईमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषय पेचिलो बन्दै गएको काँग्रेसकै कार्यकर्ताहरुको बुझाई छ । शेखर कोईराला समूहका नगरप्रमुख बसन्त बस्नेत थापालाई टिकट दिलाउने पक्षमा छन् भने जिल्ला सभापति हिमाल कार्कीले काफ्लेलाई उठाउन चाहेको बताइन्छ ।
काँग्रेसको विधानले वडा कार्यसमितिको सिफारिसमा नगर समितिको राय लिएर उम्मेदवार तोक्ने अधिकार क्षेत्रीय समितिलाई दिएको छ ।
बेलका ९ मा चाहि सुरुमा ७ जनाको नाम सिफारिस भएकोमा अहिले ३ जना टिकटको दौडमा रहेको बताइएको छ । नवीन बस्नेत, सुशीला थापा र राकेश खत्री टिकट हात पार्ने दाउमा लागिरहेका छन् ।
टिकट वितरणको अधिकार पाएको क्षेत्रीय समिति सभापति खगेन्द्र राई (निर्मल काजी)ले सिफारिस भएर आएका नामहरुमध्ये उत्कृष्टलाई टिकट दिने बताए । त्रियुगा १२ मा सिफारिस भई आएका थापा र काफ्लेमध्ये एकले टिकट पाउने र बेलकामा कसलाई दिने भन्ने विषयमा जिल्ला सभापति, नगर र वडा समितिसँग छलफल भईरहेको उनले बताए ।
्जितेको वडा भएकाले पहिलेकै वर्चश्व कायम राख्न उत्कृष्ट उम्मेदवार छान्नुपर्ने बाध्यता पार्टीलाई भएको उनले बताए । क्षेत्रीय समितिको बैठक छिट्टै राखेर दुवै वडाको उम्मेदवार टुङ्ग्याउने सभापति राईले बताएका छन् ।
एमालेले त्रियुगा १२ मा यसअघिकै उम्मेदवार रमेश राउतलाई उठाउन चाहे पनि नमानेपछि अन्य सिफारिसमा परेकाहरुबाट छान्न लागेको छ । राउतबाहेक ४ जना सिफारिसमा परेका सागर नेपाल, कुलबहादुर राउत, लक्ष्मी चौधरी र प्रथमलाल चौधरीमध्येबाट छनौट गर्ने तयारी गरेको पार्टी जिल्ला अध्यक्ष भागवत राउतले बताए ।
राउतका अनुसार बेलका ९ मा रञ्जित राई, सुरेन्द्र बस्नेत र भुषण राईलगायत ५ जनाको नाम सिफारिस भएर आएको बताए । दुवै वडामा उम्मेदवारको नाम टुङ्ग्याउन छलफल भईरहेको र छिट्टै आधिकारिक बैठक राखेर छनौट गर्ने बताए ।
त्रियुगा १२ का वडाध्यक्ष काफ्लेको चुनाव जितेकै साल फागुनमा शिवरात्रिको साँझ गाउँबाट घर आउँने क्रममा मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । उनको निधनपछि रिक्त हुन गएको वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । सो वडामा ३ हजार ८ सय ४० मतदाता रहेका छन् । गएको निर्वाचनमा १ हजार ७ सय मत खसेपछि धाँदली हुँदा स्थगित भएको निर्वाचन अदालतले ७ दिनपछि मान्यता दिएर गणना भएको थियो ।
बेलका ९ का वडाध्यक्ष पदमबहादुर खड्काको पनि मोटरसाईकल दुर्घटनामै निधन भएको हो । काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष खड्का ०८१ असारमा बेलकादेखि इटहरी जाने क्रममा मदन भण्डारी लोकमार्गमा आफ्नै मोटरसाईकल दुर्घटनामा परी निधन भएर रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । सो वडामा ३ हजार १ सय मतदाता रहेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।