घाईते निल गाईको उपचार नपाएर मृत्यु 

३ हप्ता अघि

२0८१ कार्तिक २0 मंगलवार
घाईते निल गाईको उपचार नपाएर मृत्यु 

उदयपुर, कात्तिक २०


अज्ञात व्यक्तिको गोली लागेर घाईते  लोपोन्मुख वन्यजन्तु निल गाई उपचार गर्न ढिला भएर मरेको छ । सोमबार मध्यान्ह त्रियुगा नगरपालिका ५ श्रीपुरको आँपगाछीस्थित विष्णु रायाको करेसाबारीमा भेटिएको घाईते निल गाई उपचारका लागि लान लाग्दा मरेको हो । 


बारीमा घाईते अवस्थामा स्थानीयले भेटेको निल गाई बारे सबडिभिजन वन कार्यालय देउरीमा खवर गरेर उपचार गर्न लाने तयारी गर्दै थिए । तर, सवडिभिजनको टोली घट्नास्थल आएर उपचार गर्न लान लाग्दा मरेको सरस्वति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक बान्तवाले बताए । 


निल गाई अज्ञात व्यक्तिको गोली लागेर घाईते भएर छटपटिरहेको अवस्थामा स्थानीयले देखेर सामुदायिक वन र सवडिभिजन वन कर्यालयलाई जानकारी गराएका थिए । 

उपचार गर्न नपाई मरेको निल गाईलाई सवडिभिजनको कर्मचारी टोलीले वडाध्यक्ष्ँ उद्धव थापाको रोहवरमा सर्जमिन मुचुल्का गरेपछि जङ्गलमा गाडेर दफन गरिएको छ । 


चुरे जङ्गलसँग जोडिएको सरस्वति सामुदायिक वनमा केही वर्षयता लोपोन्मुख निल गाई देखा पर्न थालेको छ । निल गाईसँगै वनमा मयुर पन्छी पनि देखिन थालेपछि सुरक्षाका लागि केही वर्षयता चरिचरण र घाँस दाउरा गर्न बन्द गरिएको बान्तवाले बताएका छन् । 


निल गाई र मयुर देखिने गरेपछि सो ठाउँमा ‘मयुर वन क्षेत्र’ घोषणा गरी चरिचरन र घाँस दाउरा गर्न रोकेर पर्यटकीयस्थल बनाउन थालिएको छ । त्यसका लागि समूहले तार घेरावार गरी सुरक्षा र मयुरलाई चारो तथा पानी खाने पोखरीसमेत निर्माण गरेको छ । 


सो ठाउँलाई वन समूहले वनभोजस्थल (पिकनिक स्पट) बनाउने योजना अघि बढाएको भए पनि नाचगान गर्दा ध्वनी प्रदुषण हुने हुँदा निल गाई र मयुर भाग्ने संभावना भएकाले संभव नभएको जनाइएको छ । 


साउण्ड बस्क (डिजे र मल्टीमिडिया प्रयोग नगरी सामान्य गीत गाएर नाचगान गर्दा भने मयुर र निल गाई नभाग्ने अनुमान गरिएको छ । 


मयुर वनलाई पर्यटनसँगै धार्मिकक्षेत्र पनि बनाउने योजना अनुसार किराती साँस्कृतिक पार्क निर्माण गर्ने काम भईरहेको छ । जहाँ किराती समुदायको मुख्य विश्वास र पहिचानस्वरुप ३ चुल्हा बनाइएको छ भने साकेला स्थान निर्माण गरिएको छ । त्यसैगरी आफै उम्रेको धमिराको दिउललाई छानो लगाएर संरक्षण गरिएको छ । 


साँस्कृतिक पार्कसँगै जोडिएको ५ कठ्ठा क्षेत्रफल जमिनमा वर्षे पानी जमाएर नाग पोखरी बनाइएको छ । पोखरीको बीचमा नाग देवताको मूर्तिसमेत स्थापना गरिएको छ । 


मयुर वन पर्यटकीयस्थल निर्माण कार्यका अभियन्ता स्थानीय केशव थुलुङका अनुसार साकेला पार्कमा वर्षेनी उभौली र उधौलीमा साकेला सिली नृत्य तथा भूमि पुजा हुने गरेको छ । त्यस्तै नाग पञ्चमीका दिन १ दिने मेला पनि लगाउँदै आएको थुलुङले बताए ।