३ हप्ता अघि
२0८१ कार्तिक १७ शनिबारउदयपुर, कात्तिक १३
त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेमा वडास्तरीय भलिबल प्रतियोगिता सुनौलो टोल विकास सँस्था सुकौराले जितेको छ । सुकौराले सिरुवानी टोल विकास सँस्था काभ्रेलाई पराजित गर्दै प्रथमस्थान हासिल गर्न सफल भएको हो ।
सिरुवानी उपविजेता हुँदा लाली गुँरास टोल विकास सँस्था आहाले तेस्रो भएको छ । दिपावली तथा छठ पर्वको अवसर पारेर वडा कार्यालयको सहयोगमा वडा खेलकुद विकास समितिले आयोजना गरेको दुई दिने प्रतियोगिताको गत १६ गते वडा सदस्य घमानसिंह राईले उद्घाटन गरेका थिए ।
वडास्तरीय खेलकुद विकास समितिका अध्यक्ष पेशल राईका अनुसार मावि चिलाउने भन्ज्याङको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडाभित्रका विभिन्न ११ वटा खेल समूहको सहभागिता थियो । प्रतियोगिता वडाको आर्थिकवर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको हो ।
शुक्रबार आयोजित प्रतियोगिता समापन समारोहमा वडाध्यक्ष मानबहादुर राईले विवजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रथम स्थान ल्याउने सुकौरालाई १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेता काभ्रे सिरुवानीलाई ७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरे । त्यस्तै तेस्रो स्थान ल्याएको लालीगुराँसले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाएको छ ।
वडाध्यक्ष राईले उत्कृष्ट ठहरिएका ३ खेलाडीहरु कृष थापा मगर, खड्गबहादुर राई र कृष्णकुमार राईलाई पनि नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा वडाध्यक्ष राईले वडाभित्रका ७ ओटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री पनि वितरण गरे । भलिवल, नेट (जाली), पम्प, रिङ बल, चेस, लुँडो र स्कीपिङ डोरीलगायत खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
समापन समारोहमा प्रमूख अतिथि वडाध्यक्ष मानबहादुर राईले विगतवर्ष झैँ यसपाली पनि युवालक्षित खेलकुद कार्यक्रमअन्तर्गत भलिबल खेलाइएको बताए । यस्ता प्रतियोगिताले युवाहरुमा खेलप्रतिको अभिरुचि बढ्नुका साथै स्थानीय खेलाडी उत्पादनमा सहयोग पुगेको उनको भनाई थियो । अध्यक्ष राईले वडाभित्र समुदाय र विद्यालयतहमा खेलकुदको विकास तथा प्रबद्र्धन गर्न वडा कार्यालयले सदैव सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उनले सभ्य र भव्य सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेकामा आयोजकलाई धन्यवाद दिए ।
कार्यक्रममा वडा सदस्य घमानसिंह राईले वडाबासी युवाहरुको खेलकुदप्रतिको रुची बढाउन तथा अनुशासन र विकासमा प्रतिबद्ध गराउन नियमित खेलका गतिबिधि गराउँदै आएको बताए । मावि चिलाउने भन्ज्याङका प्रअ रामबहादुर राईले वडाबाट हुँदै आएको शिक्षा, स्वास्थ्य, खेलकुद र महिलालक्षित गतिबिधिहरु सराहनीय भएको भन्दै प्रशंसा गरे । हरेक विद्यालयमा खेल मैदान बनाउन तथा भएका मैदानको मर्मत गर्न पनि प्रअ राईले वडालाई सुझाएका थिए ।
खेलकुद विकास समितिका अध्यक्ष पेशल राईको अध्यक्षतामा सन्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडाका कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकशिक्षिका, स्वास्थ्यकर्मी, आयोजक संस्थाका पदाधिकारी तथा वडाबासी सर्वसाधारणको उपस्थिति थियो ।