‘नेपालटार–उदयपुरगढी पदयात्रा’मा नेपाली सेना

३ हप्ता अघि

२0८१ कार्तिक १६ शुक्रबार
‘नेपालटार–उदयपुरगढी पदयात्रा’मा नेपाली सेना

 

उदयपुर, कात्तिक १६ 

नेपाली सेनाको पशुपतिप्रसाद गण गाईघाटले उदयपुरगढीसम्मको पदयात्रा पुरा ग रेको छ । पुरानो जिल्ला सदरमुकामको ऐतिहासिक तथा पर्यटकीय तथा सामरिक महत्व दर्शाउन गणले पदयात्रा आयोजना गरेको हो ।


उदयपुरगढी गाउँपालिका ५ मा पर्ने गढी क्षेत्रसम्म पुग्न सेनाको टोलीले ९ किलोमिटर दूरी पैदल यात्रा गरेको हो । मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी ६ नेपालटारदेखि गाउँपालिका केन्द्रसम्मको ८ किलोमिटर र त्यहाँदेखि १ किलोमिटर पश्चिम पुरानो गढीसम्म सेनाको टोलीले पदयात्रा गरेको हो । 


गणपति शिवप्रसाद वाग्लेका अनुसार देशका विभिन्न ऐतिहासिक तथा सामरिक महत्वका स्थलहरुको पदयात्रा गर्ने सेनाको योजना अनुसार पदयात्रा गरिएको हो । कर्णेल वाग्लेले एकीकरण पदमार्ग तथा किनलक पदमार्गहरुमा पदयात्रा गर्ने कार्यक्रम नेपाली सेनाको नीति तथा कार्यक्रममै समावेश गरिएको बताए । 


पदयात्राले गढीक्षेत्रको पर्यटन विकास र संबद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिको पनि गणपति वाग्लेले बताए । पदयात्रा टोलीमा नं. १८ बाहिनी भुल्केका बाहिनीपति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी, सशस्त्र प्रहरी प्रमुख एसपी सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख उपनिर्देशकलगायत ५ दर्जन बढी सुरक्षाकर्मी तथा सरोकारवालाहरुको सहभागिता थियो । 


गढी पुगेको पदयात्रा टोलीलाई गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर,  उपाध्यक्ष जीतबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँलगायतले स्वागत गरेका थिए । सो क्रममा अध्यक्ष मगरले गढीक्षेत्र उदयपुरगढी गाउँपालिकाको मात्र नभएर सिंगो जिल्लाकै ऐतिहासिक, सामरिक तथा पर्यटकीय महत्वको साझा थलो भएको बताए । 


अध्यक्ष मगरले गढी क्षेत्रको विकास र संबद्र्धनमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउँदै चौधौ शताब्दीमा उदयचन्द्र नाम गरेका सेन वंशी राजाले शासन गरेकाले यसको नाम उदयपुरगढी रहन गएको र त्यसकै नामबाट जिल्लाको नाम ‘उदयपुर’ रहन गएको बताए । 


पृथ्वीनारायण शाहले राज्य एकीकरणको दौरान पूर्वी भेगका किराती राजा रजौटालाई हराउन चौदण्डीगढीको कोत राख्ने प्रमुख थलो उदयपुरगढीको पुरानो गढीको छुट्टै महत्व रहेको मगरको भनाई छ । सदरमुकाम गाईघाट सार्नुअघि ०२९ सालसम्म उदयपुरगढीमै रहेको थियो । 


यस्तो महत्वपूर्ण ठाउँ भएकाले यसको विकास र प्रबद्र्धनका लागि पर्यटकीयक्षेत्र बनाउन गाउँपालिका लागी परेको छ । त्यसका लागि पुरानोगढीक्षेत्रको पुनर्संरचना गर्ने काम भईरहेको अध्यक्ष मगर बताएका छन् । तत्कालीन सेनाले हातहतियार राख्ने बङ्करको भग्नावशेषसहितको पुरानोगढीक्षेत्रको पुनर्संरचना कार्य अहिले अन्तिम चरणमा पुगेको अध्यक्ष मगरले गराए । 


त्यसका लागि गाउँपालिकाले सङ्घीय सरकारको पर्यटन मन्त्रालय तथा प्रदेश सरकारसँग साझेदारीमा गाउँपालिकाले पुरानोगढी पुनर्संरचना गरिरहेको उनी बताउँछन् । 


गढीक्षेत्र समुद्री सतहदेखि १ हजार १ सय ६० मिटर उचाईमा छ । चिसो मौसम, स्वच्छ वातावरण, मनोरम दृष्य र वरिपरि बरपिपल तथा वनस्पतीले भरिएको ठाउँ भएकाले त्यहाँबाट टाढाटाढाका सहर बजार देख्न सकिन्छ । पछिल्लो समय उदयपुरगढी पर्यटकको पहिलो रोजाईमा पर्न थालेको छ ।

 
नेपालटारदेखि गढीसम्म पुग्ने सडक अहिलेसम्म कच्ची रहेकाले कालोपत्रेसहितको स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको छ । प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले नेपालटार–उदयपुरगढी खण्ड ८ किलोमिटर सडक कालोपत्रेसहितको स्तरोन्नतिको काम यसै आर्थिकवर्षभित्र सक्ने गरी धमाधम भईरहेको बताए ।