१ हप्ता अघि
२0८१ कार्तिक १४ बुधबारकटारी, कात्तिक १४
कटारी नगरपालिका ४ मा सम्पन्न ‘तेस्रो गबुवा नकआउट फुटबल प्रतियोगिता ०८१’को उपाधि शाका फुटबल क्लब कटारीले चुमेको छ । मङ्गलबार सम्पन्न फाईनल खेलमा कटारी २ स्थित गराँस फुटबल क्लवलाई ४-० गोल अन्तरले पराजित गर्दै शाका उपाधि हात पार्न सफल भएको हो ।
शाकाका खेलाडी अनिश राईले २ गोल, धनजित धिमाल र प्रताप राईले समान १-१ गोल गर्दै आफ्नो समूहलाई उपाधि दिलाउन सफल भएका हुन् । गबुवा स्पोर्टस क्लव कटारीको आयोजनामा भएको प्रतियोगितामा उद्घाटन खेलदेखि सेमिफाईनलसम्म दबाव जमाउँदै फाईनल पुगेको गराँस भने फाईनलमा गोलविहीन हुँदै उपविजेतामा सीमित हुन पुग्यो ।
खेलको म्यान अफ द म्याच शाकाकै अनिश राई घोषित भए । उत्कृष्ट खेलाडी गराँसका अयुब राई घोषित हुँदा उत्कृष्ट गोल रक्षक शाकाकै समिर बमजन घोषित भए । सर्वाधिक गोलकर्ता ४ गोल गर्ने शलेस युवा समूह कटारी ५ का खेलाडी सुजित अधिकारी घोषित भए ।
कात्तिक ५ गते सुरु भएको प्रतियोगिता विजेता शाकाले नगद ७७ हजार ७ सय ७७, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता गराँसलाई नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र दिइएको छ । उनीहरुलाई प्रमुख अतिथि उदयपुर निर्वाचन क्षेत्र २ (ख) का प्रदेशसभा सदस्य तथा निवर्तमान प्रदेशमन्त्री रामकुमार खत्री र क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले संयुक्त रुपमा ट्रफि, पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
पुरस्कार वितरण गर्दै सांसद खत्रीले फुटकल खेलमध्येकै उत्कृष्ट भएकाले यसको माध्यमबाट कटारीलाई चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले खेलकुद क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतियोगितामा उदयपुर र सिन्धुलीका १० खेल समूहको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विश्वकर्माले बताए ।