नेपाली कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह 

३ हप्ता अघि

२0८१ कार्तिक १४ बुधबार
नेपाली कम्युनिष्ट  पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह 

उदयपुर, कात्तिक १४ 

शताब्दीअघि जन्मेका नेपाली कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह प्ररम्भ भएको छ । नेकपा (माओवादी केन्द्र)ले सँस्थापक स्वर्गीय कर्माचार्यको जन्मशताब्दी समारोह मनाउन लागेको हो । 


बुधरबार माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरस्थित कर्माचार्यको शालिकमा माल्यार्पण गर्दै जन्मशताब्दी समारोहको आरम्भ गरेका छन् । कर्माचार्य जन्मेको सय वर्ष पुगेको अवसरमा यो वर्षभरी नै कम्युनिष्टसम्बन्धी विभिन्न गतिबिधि गर्दै जन्मशताब्दी कार्यक्रम गर्ने पार्टीले जनाएको छ ।


पार्टीले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरी कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ । बुधबारै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी आयोजना गरेको छ । 


दिउँसो १२ः३० बजेदेखि सुरु हुने गोष्ठीलाई अध्यक्ष  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरु मोहन बैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।


सँस्थापक कर्माचाय १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका थिए । जीवनभर कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहदै आएका कर्माचार्यको २०७० साउन ९ गते काठमाडौँमा निधन भएको थियो ।


उनी २००६ सालमा मा भारतको कोलकातास्थित वडा बजारमा पुष्पलालको संंयोजकत्वमा स्थापना भएको नेकपा स्थापनामा सदस्य थिए । पुष्पलालले कर्माचार्यसँगै निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य रहेको कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । 


२००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका कर्माचार्य कम्युनिष्ट पार्टी स्थापनापश्चात मजदुर सङ्गठनको संस्थापक अध्यक्ष भएका थिए । २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिका प्रमुख निर्वाचित कर्माचार्य २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 


पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनको निरन्तर भूमिका रहदै आउको थियो । यसै क्रममा २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य भएका उनी २०४८ मा विभिन्न ४ पार्टीको एकता गराउँदै बनेको एकता केन्द्रको केन्द्रीय सदस्य भएका थिए । 


जीवनको उत्तराद्र्धमा नेकपा (माओबादी केन्द्र)को संरक्षक भएर सँस्थापक कर्माचायले नेपाली कम्युनिष्ट आन्दोलनलाई अभिभावकत्व दिदै सक्रिय भूमिका निर्वाह गरेका थिए । कर्माचार्यलाई नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा चरित्रवान, सामाजिक, लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारको पर्यायका रूपमा लिने गरिएको छ । 


नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले बुधबारै पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ। कर्माचार्यको व्यक्तित्व, सपनाहरु र कार्यान्वगन गर्ने आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले बताएका छन् ।