३ हप्ता अघि
२0८१ कार्तिक १२ सोमबारउदयपुर, कात्तिक १२
गाईघाट फुटबल क्लबले बेलका गोल्डकपको उपाधि पाएको छ । आतईबार सम्पन्न खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई २-० गोल गर्दै पराजित गर्दै ‘दोस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता ०८१’को उपाधि गाईघाटले चुमेको हो ।
बेलका नगरपालिकाको प्रायोजनमा स्थानीय ब्रदरहुड फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा गाईघाटका लागि रविशङ्कर चौधरी एक्लैले २ गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा चौधरीले लगातार २ गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् ।
उपाधिसँगै विजेता गाईघाट एफसीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेस्ट एफसीलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गएिको आयोजक ब्रदरहुड क्लबले जनाएको छ ।
‘बेलकाको शान खेलकुद विकासमा हातेमालो हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फाईनल खेलको म्यान अफ द म्याच गाईघाटका चौधरी नै घोषित भए भने गाईघाटका सुदीप श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ७ हजार नगदसहित मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगिताको विधागत पुरस्कारतर्फ गाईघाटका अनिल मगर उत्कृष्ट गोलकिपर भए भने एभरेस्टका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर तथा आयोजक ब्रदरहुडका राजन मगर उदीयमान खेलाडी घोषित भए । त्यसैगरी एभरेस्टका आकाश राई सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँँदा गाईघाटका किरणकुमार कार्की उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाउन सफल भए ।
विधागत विजेताहरु सबैलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबले जनाएको छ ।