४ हप्ता अघि
२0८१ कार्तिक १0 शनिबारकटारी, कात्तिक १०
इलाका प्रशासन कार्यालय कटारीको लगाम महिला हाकिमको हातमा परेको छ । नेपाल सरकारकी उपसचिव कोपिला राई भर्खरै इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेबारीमा आएकी हुन् ।
सातादिनअघि मात्र सरुवा भएर आएकी उपसचिव राईले शनिबार आयोजित एक कार्यक्रममा सक्दो राम्रो काम गर्ने बताएकी छिन् । आफ्नो कार्यकालमा सक्दो राम्रो गर्ने नसके नराम्रो गर्दै नगर्ने प्रतिबद्धता उनले जनाएकी छिन् ।
किरात राई यायोक्खा कटारी नगर समन्वय समितिको स्वागत ग्रहण गर्दै हाकिम राईले जागीरे जीवनको सुरुआतदेखि अहिलेसम्म सक्दो राम्रो काम गर्दै आएको, छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सकेसम्म नराम्रो नगर्ने बताईन् ।
जिम्मेबारी वहन गर्दा इमान्दार र सक्दो राम्रो काम गर्ने, सेवाग्राहीलाई दुःखकष्ट हुने काम गर्दै नगर्ने आदत रहेको उनले सुनाईन् । प्रभावकारी सेवा प्रवाह गर्नका लागि कार्यालय प्रमुखले मात्र नसक्ने हुँदा कर्मचारी परिवार, राजनीतिक दलहरु, जनप्रतिनिधि र स्थानीय सर्वसाधारणको पनि सहयोग चाहिने उनको भनाई थियो । त्यसका लागि सबैसँग आवश्यक सहकार्य र समन्वय गर्ने बताउँदै आफुले पनि त्यस्तै अपेक्षा गरेको बताईन् ।
इलाका प्रशासन कटारी मातहतका भूगोलका नागरिकलाई चुस्त दुरुस्त र छिटो छरितो सेवा प्रदान गर्न सबैसँग आवश्यक सहकार्य र समन्वयको आसा गरेको भन्दै उनले जायज काममा सबैपक्षको साथ पाउने अपेक्षा गरिन् । नेपाली नागरिक्ता प्रमाणपत्र र शान्ति सुरक्षासँग सम्बन्धित विषयमा कानुन बमोजिम काम गर्दा कहिलेकाही समस्या आउने बताउँदै हरेक कुरा कानुनको परिधिभित्र रहेर गर्ने अठोट व्यक्त गरिन् ।
जनतालाई सक्दो छिटो र सहज सेवा प्रवाह गर्ने कुरामा आफु सँधै दृढ सङ्कल्पित रहेको भन्दै राईले ढिलो काम भए वा हुदै नहुने नभए त्यसको कारण र कानुनी अड्चनबारे सेवाग्राहीलाई जानकारी दिएर चित्त बुझाउनु पर्ने बताईन् । आफुलाई स्वागत र सम्मान गर्ने आयोजक कटारी यायोक्खा र कटारीसीप्रति आभार व्यक्त गर्दै उनले विश्वासमा खोट लाग्न नदिने वाचा गरिन् ।
कार्यक्रममा यायोक्खा पदाधिकारीहरुले उनलाई इलाका प्रशासन कार्यालय प्रमुख भएर आएकोमा गर्व लागेको बताउँदै सेवाग्राहीमैत्री र सफल भएको हेर्न चाहेको बताएका थिए । अन्र्तकृयात्मक कार्यक्रममा सहभागीहरुले कटारीको जल्दोबल्दो समस्या सुनाउँदै समाधानका उपायबारे सुझावसमेत दिएका थिए ।
यसअघि सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव राई यसअघि विभिन्न कार्यालय प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी छिन् । उनी किरात राई कर्मचारी मञ्च नेपालकी राष्ट्रिय उपाध्यक्षसमेत हुन् ।