४ हप्ता अघि
२0८१ कार्तिक ८ बिहीबारउदयपुर, कात्तिक ८
तोकिएभन्दा झण्डै दोब्बर बढी भाडा लिने एक यात्रुबाहक बस ट्राफिक प्रहरीको नियन्त्रणमा परेको छ । भाडा बढी लिनुका साथै यात्रुमाथि दुब्र्यवहार गर्ने सिमोन यातायातको बस नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
को १ ख ७१९९ नम्बरको समोन यातायातले मदन भण्डारी लोकमार्ग अन्तर्गत विराटनगर–गाईघाट रुटमा तोकिएभन्दा बढी भाडा लिएको उजुरीका आधारमा नियन्त्रण गर्नुपरेको ट्राफिक कार्यालय उदयपुरका प्रहरी सहायक निरीक्षक (असई) तिलक पौडेलले बताए । पौडेलका अनुसार धरानदेखि बेल्टारसम्म आउजाउ गर्ने यात्रुसँग तोकिएको १ सय ५६ रुपैँया भाडा लिनुपर्नेमा २ सय ५० लिएको भन्दै कार्यालयमा उजुरी परेकाले अनुसन्धकान गर्न नियन्त्रणमा लिनु परेको हो ।
विहीबार दिउँसो ३ः०० बजे बस नियन्त्रणमा लिएर पूर्व–पश्चिम बरुवा बसपार्कमा ह्वील लक गरेर राखिएको छ ।
भाडा बढी लिन खोज्दा विवाद गर्दै यात्रु्माथि दुव्र्यवहारसमेत गर्ने गरेको पनि उजुरीमा उल्लेख छ । बस सञ्चालक पुष्पराज तिम्सिना स्वयम् तोकिएभन्दा बढी भाडा उठाउने गरेको र बढी नतिर्ने यात्रुहरुमाथि तथानाम गाली बेइजतीको भाषा बोलेर दुव्र्यवहार गर्ने गरेको गुनासो उजुरीमा छ ।
ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्र खड्काले तोकेभन्दा झण्डै दोब्बर भाडा लिने गरेको पाइएपछि अनुसन्धानका लागि बस नियन्त्रणमा लिएको बताए । खड्काले यसबारे बुझ्न शुक्रबार बस मालिक तिम्सिना तथा चालक र सहचालकलाई कार्यालयमा बोलाइएको बताए । नियमभन्दा बढी भाडा लिएको प्रमाणित भए जरिवाना र आवश्यक कानुनी कारवाही हुने इन्सपेक्टर खड्काले बताएका छन् ।
तोकिएभन्दा बढी भाडा लिने बसलाई पहिलो पटक ५ हजार जरिवाना तिराउने कानुनी व्यवस्था ट्राफिक ऐनमा रहेको छ । ट्राफिकका अलावा प्रहरीमा पनि उजुरी दिए उपभोक्ता संरक्षण ऐन अन्तर्गत छुट्टै मुद्धा चलाएर थप कारबाही हुने व्यवस्था रहेको पनि इन्सपेक्टर खड्काले बताएका छन् ।