नेत्रज्योति सङ्घ उदयपुरबाट २ लाख १० हजारले उपचार पाए

४ हप्ता अघि

२0८१ कार्तिक ८ बिहीबार
नेत्रज्योति सङ्घ उदयपुरबाट २ लाख १० हजारले उपचार पाए

उदयपुर, कात्तिक ८

नेपाल नेत्र ज्योति सङ्घ उदयपुरले स्थापनाकालदेखि हालसम्म २ लाख १० हजारभन्दा बढी विरामीलाई आँखाको उपचार गरिदिएको छ । सङ्घले विहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । 

 

सम्मेलनमा सङ्घका अध्यक्ष भागवत राउतले ०६० सालमा गठन गरी ०६५ (सन् २००८) देखि सदरमुकाम गाईघाटमा ‘प्राथमिक आँखा उपचार केन्द्र’ सञ्चालन सुरु गरेको सङ्घले हालसम्म आईपुग्दा सो सङ्ख्याको विरामीले आँखा उपचार गराउन पाएको बताए । अहिलेसम्म आईपुग्दा सङ्घले १ लाख ४६ हजार महिला, ९५ हजार ७ सय ६९ पुरुष र ३१ हजार १ सय १२ जना बालबालिकाले सेवा पाएको जानकारी दिए । 

 

कोठा भाडामा लिएर आँखा जँचाउन थालेको नेत्र ज्योति सङ्घ हाल करोडौँको सुविधा सम्पन्न ‘मदन भण्डारी आँखा अस्पताल’ भवन बनाएर सञ्चालन गर्ने सफलतासम्म आईपुगेको गर्व पनि अध्यक्ष राउतले साझा गरे । यो बीचमा सङ्घले विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको स्मृति र सहयोगमा विभिन्न खाले शिविर सञ्चालन गरी आँखा उपचार गरेको जानकारी उनले दिए । 

 

जस अनुसार ०८० फागुनमा त्रियुगा नगरपालिकाका संस्थापक प्रमुख लालशेर राई र उनकी धर्मपत्नी मिथिला राईको स्मृतिमा परिवारको आर्थिक सहयोगमा र त्रियुगा ११ का समाजसेवी युवा सन्दिप भट्टराईको समन्वयमा ‘दाजु-भाई समूह कतार’को सहयोगमा ८४ जना मोतियाविन्दुका विरामीको निःशूल्क शल्यक्रिया गरेको जानकारी अध्यक्ष राउतले दिए । 

 

केन्द्रले भारत सरकारको सहयोगमा सञ्चालित आफ्नै एम्बुलेन्स सेवामा दलित समुदायका विरामीलाई १० प्रतिशत भाडा छुट दिइदै आएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष राउतले आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउने भावी योजनाहरु प्नि पस्केका छन् ।

 

जस अनुसार अस्पतालमा कार्यरत नेपाल सरकारको छात्रवृतिका सोधार्थी डा. विवेक उपाध्यायको २ वर्षे सेवावधि सकिएकाले अव अस्पताल स्रोतबाट भरणपोषण गर्नेगरी सेवा निरन्तरता दिलाउने व्यवस्था मिलाइएको उनले बताए । अहिलेसम्म सरदर मासिक १ पटक सञ्चालन हुदै आएको मोतियाविन्दुको शल्यक्रिया (अप्रेसन) सेवा विरामीको चाप र घनत्व अनुसार सके साप्ताहिक, नसके पाक्षिकरुपमा सञ्चालन गर्ने योजना अघि बढाइएको राउतको भनाई छ । 

 

अस्पताल सञ्चालनपछि प्राथमिकतहको उपचार सेवालाई माध्यमिकतहमा स्तरोन्नति गर्न आवश्यक सम्पूणर् औजार उपकरणको प्रवन्ध भईसकेको जानकारी पनि उनले दिएका छन् । आधुनिक र प्रविधियुक्त जीवन शैलीका कारण भविष्यका कणर्धार बालबालिका आँखामा गम्भीर प्रकारका समस्या देखा पर्ने भएकाले उनीहरुको आँखा स्वास्थ्य ठिक दुरुस्त राख्न वार्षिक १५ वटा विद्यालयमा आँखा जाँच शिविर राख्ने र समस्या पाइए निःशूल्क चश्मा वितरण गर्ने योजना राउतले सुनाए । भिन्नभिन्न ठाउँमा शिविर राखेर पहिचान भएका विरामीको निःशूल्क शल्यक्रिया गर्ने योजना पनि अघि बढाइएको छ । 

 

सङ्घले समुदायस्तरसम्म सोझो सम्पर्क र पहँुच पुग्ने भएकाले स्वास्थ्य स्वयम्सेविका र शिक्षक शिक्षिकालाई आँखा स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम दिने भएको छ । जसका लागि वार्षिक ६५ जना स्वयम्सेविका र सामुदायिक विद्यालयका २५ जना शिक्षकलाई आँखा उपचार तथा जाँचसम्वन्धी तालिम दिने कार्यक्रम अघि बढाइइएको छ । यसअघि पनि बेलाबेलामा गर्दै आएको कैदीबन्दी, जेष्ठ नागरिक र अति बिपन्न समुदायको आँखा जाँचसहितको निःशूल्क चश्मा वितरण कार्यलाई निरन्तरता दिन ‘आई केयर फाउण्डेसन’ नामक सँस्थाले अस्पताललाई १२ लाख रुपैँया सहयोग गर्ने समझौता भएको जानकारी राउतले दिए । 

 

त्यसैगरी उपचार गर्न आउने जेष्ठ नागरिक र शारीरिक असक्तहरुलाई हिडडुल गर्न सजिलो पार्ने उदेश्यले सानिमा बैँक लिमिटेडले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सहयोग गरेको १५ लाखबाट अस्पतालमा अपाङ्गतामैत्री र्‍याम्प निर्माण गरिएको छ । त्यस्तै सानिमा रिलायन्स जीवन विमा कम्पनीबाट प्राप्त १५ लाखले अस्पताल परिसरमा चमेनागृह (क्यान्टिन) बनाइएको छ भने विरामी तथा कुरुवाका नवजात शिशुलाई दुध खुवाउन खेलौना सहितको स्तनपान कक्ष निर्माण भईसकेको अध्यक्ष राउतले बताए ।

 

आँखा अस्पताललाई अध्यक्ष राउयतले ‘उदयपुरको दृष्टिकुञ्ज’को सङ्ज्ञा दिदै यत्तिको अवस्थासम्म आईपुग्न भवन निर्माणदेखि सबै क्षत्रमा सहयोग गर्ने सङ्घसँस्था व्यक्तिलाई अध्यक्ष राउतले धन्यबाद दिएका छन् । 

 

अस्पताल भवन संविधानसभा सदस्य मञ्जुकुमारी चौधरीको निर्वाचनक्षेत्र विकास कार्यक्रम, स्वास्थ्य मन्त्रालय र जापान सरकारको सहयोगबाट निर्माण भएको हो । जसका लागि चौधरीले ४० लाख र जापानले ९० लाख ५० हजार उपलब्ध गराएको राउतले बताए । त्यसैगरी अस्पतालका लागि आवश्यक औजार उपकरण खरिद गर्न २ करोड सहयोग प्राप्त भएको जानकारी दिए । 

 

मदन भण्डारी लोकमार्गको गाईघाट-कटारी खण्डदेखि अस्पतालसम्म जोडिएको दक्षिणतर्फ १ सय ८० मिटर सडक लोकमार्ग योजना कार्यालले २२ लाख खर्चेर कालोपत्रे गरिदिएको छ । पूर्वतर्फको सडक स्तरोन्नतिसहितको कालोपत्रे गर्न प्रदेश सरकारले चालुवर्ष ३२ लाख विनियोजन गरिदिएको राउतले बताएका छन् । त्यस्तै थप भवन निर्माणगर्न प्रदेश सरकारले चालु वर्षको बजेटमा ५० लाख सुनिश्चित गरिदिएको जानकारी पनि उनले दिए । गतवर्ष प्रदेश सरकारबाट प्राप्त ८ लाख रुपैँया अस्पताल परिसरको आँगन र बाटोमा इन्टरलक ब्लक विच्छयाउन खर्चेको जानकारी राउतले दिएका छन् ।