१ महिना अघि
२0८१ कार्तिक ५ सोमबारउदयपुर, कात्तिक ५
प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्षी दलहरूले ज्ञापनपत्र बुझाएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ दलका नेताहरूको टोली सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहको हस्ताक्षर रहेको छ ।
विपक्षी दलहरु को ज्ञापनपत्रमा नेकपा (एमाले) र नेपाली काँग्रेसले ०८१ ऋसार १७ गते मध्यराति ७ बुँदे सम्झौता गरी एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीब्रता दिने विषय सार्वजनिक गरे पनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।
ज्ञापनपत्रमार्फत विपक्षी दलहरुले भनेका छन् ‘सुरुवाती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झण्डै सयदिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको मात्र हैन, सरकारको भनाई र गराईमा कुनै तादात्म्यता देखिन छोडेको छ । सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासन कमजोर बनाएको छ । अदालतमा मुद्दा खेपिरहेका व्यापारीको पक्षमा स्वयं प्रधानमन्त्रीले नै पक्षपोषण गर्नु र प्रधानमन्त्रीकै दलले करिब १ अर्ब बढी मूल्यको जग्गा गैरकानुनी रूपमा दान लिएर सुशासनको उपहास गर्ने कार्य भएको छ ।’
साथै, सरकारले लोकतन्त्रलाई २ ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको विपक्षी दलहरुको ज्ञापनपत्रमा उःल्लेख छ । गत शुक्रबार बसेको विपक्षी दलको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । बैठकले माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गरेको थियो ।