प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेः प्रचण्ड

१ महिना अघि

२0८१ कार्तिक ५ सोमबार
प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेः प्रचण्ड

जुम्ला, कात्तिक ५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओबादी आगामी चुनावमा ०६४ कै अवस्थामा फर्कने बताएका छन् । सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा प्रेस सेन्टर जुम्लाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आउदो ०८४ को निर्वाचनमा माओबादीलाई ०६४ कै अवस्थामा फर्काउने गरी युद्धस्तरमा संगठन विस्तारको काम भईरहेको उनले बताए । 

 

प्रचण्डले अहिले पार्टी संगठन विस्तार र सुदृढिकरणमा केन्द्रित भएको भन्दै अध्यक्ष प्रचण्डले आउदो चुनावमा ०६४ कै अवस्थामा फर्काउने र अर्को चुनावसम्ममा स्पष्ट बहुमत ल्याउने गरी जनकेन्द्रित भएर संगठन निर्माणमा पार्टी लागिरहेको बताए ।  

 

उनले प्रधानन्त्री केपी ओलीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताए । सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा प्रेस सेन्टर जुम्लाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए । 

 

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन र भ्रष्टाचार प्रोत्साहन गर्न बनेको हो’ प्रचण्डको भनाई थियो ‘ सरकार गठनको सयदिन पुग्दै गर्दा तपाइँहरुले सबै देखिरहनु भएको छ । ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमीन जबरजस्ती व्यक्तिका नाममा लाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरकेो छ, तिनै व्यवसायीबाट जग्गा दान लिने कार्य प्रधानमन्त्रीले गरेर  सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरे ।’

 

सरकारले गर्नुपर्ने काम केही नगरेको र नगर्नुपर्ने सबै काम गरिरहेको बताउँदै उनले अब सरकार गठनको सय दिन पूरा भएपछि बिरोध सुरु हुने बताए । ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मान्न सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य बिरोध गरेका छैनौं’ प्रचण्डले भने ‘आज मात्रै हामी बिपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिंदैछौं र सयदिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छ।’


पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा र अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने पहलकदमी लिइरहेका बेला संँसदका पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताबताए । ‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला,  भ्रष्टाचारीलाई कारबाही अघि बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानिलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वभाविकरुपमा सरकार बनेको उनको भनाई थियो । 


आफूले सरकार चलाएको बेला जनतामा आशा जगाउँदै विश्व समुदायमाझ नेपालको प्रतिष्ठा उचो हुँदै गएको बताउदै प्रचण्डले दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारी भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले ‘संंयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा गरेको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको बताए । 


महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा पनि नेपाल भ्रमण गराउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट दुवैले विश्व शान्तिका लागि अपिल गरेको स्मरण गराए । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको बताउँदै उनले नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको बताए । 


सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने जानकारी दिदै अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीमा आयोजित पत्रकार भेटमा त्यसका लागि चाँडै ऐन बन्ने बताए । आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषदबाट पारित गरी संंसदबाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताए ।