१ महिना अघि
२0८१ कार्तिक ४ आईतवारउदयपुर, कात्तिक ४
चितवनको भरतपुर महानगरपालिकाले आगामी विद्यालय शिक्षा परीक्षा (एसईईई) नतिजा सुधार गर्ने लक्षसहित कार्यक्रम अघि बढाएको छ । आउँदो एसईईमा सामुदायिक विद्यालयतर्फको नतिजा सुधार्ने उदेश्यले महानगरले प्रधानाध्यापकहरबाट लिखित प्रतिबद्धता लिएको हो ।
भर्खरै आयोजित सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा आगामी वर्षको एसईई र कक्षा ८ को नतिजा सुधार्ने प्रस्तावप्रति प्रतिवद्धता जनाउँदै लिखित दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरपालिका पछिल्लो समय सार्वजनिक शिक्षा सुधारमा ठोस प्रगति गर्ने उदेश्यका साथ अघि बढिरहेको बताए । एसईईको नतिजा सुधार्न दृढसङ्कल्पित रहदै महानगरभित्रका सबै सामुदायिक विद्यालयसँग कार्य संपादन सम्झौतामार्फत प्रतिबद्धता मागेको उनले बताए । प्रअहरुसँगको छलफलपछि विभिन्न २८ बुँदे कार्य संपादन करार सम्झौतापत्रमा प्रअहरुले हस्ताक्षर गरेको हाकिम पौडेलले बताए । जसमा एसईई र कक्षा ८ को नतिजा सुधार्ने बुँदाहरु उल्लेख छन् ।
व्यापारिक कम्पनी या सङ्घसँस्थाहरुले आगामी वर्षको नतिजा हासिल गर्न अगाडि नै लक्ष्य तय गरे झैँ महानगरले पनि शैक्षिक सुधारका लागि लक्ष निर्धारण गरेर अघि बढ्न प्रअहरुसँग सम्झौता गरेको पौडेलको भनाई छ । सिकाइ उपलब्धिको लक्ष्य निर्धारण गरे अनुसार महानगरले विद्यालयहरुसँग कार्ययोजना पनि मागेको छ ।
महानगरसँगको सम्झौतापछि प्रअहरुले पनि विद्यालयका विषय शिक्षकसँग त्यस्तै खाले लक्ष्य निर्धाराण् गरेर कार्य संपादन सम्झौता गराएको हाकिम पौडेलले बताए । ‘हामीले प्रअहरुसँग प्रतिबद्धता लियौँ’ हाकिम पौडेलले भने ‘त्यसै अनुरुप प्रअहरुले विषयगत शिक्षकसँग पनि लक्ष्य प्राप्तीको प्रतिवद्धता लिएका छन् । त्रिकोणात्मक समन्वयमा शिक्षामा सुधार ल्याउने हाम्रो योजना हो ।’
गतवर्ष कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने भन्ने विषयमा विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको हाकिम पौडेलले बताएका छन् । अब हरेक परीक्षाको नतिजापछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा गरिने पनि महानगरले जनाएको छ । भरतपुरमा ५३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले लक्ष्य पूरा नभए किन भएन भन्ने कुराको समीक्षा गर्दै समस्या खुट्याएर समाधान गर्न आवश्यक सुझाव सल्लाह लिने गरेको बताएका छन् । भर्ना भएर पढिरहेका विद्यार्थीको नतिजाप्रति विद्यालयलाई जिम्मेवार बनाउन कार्यसम्पादन करार सम्झौता गरिएको आचार्यले बताए । आगामी नतिजा सुधारको लक्ष्य महानगरले तोकेको नभएर उनीहरुले नै आफ्नो वस्तुस्थिति अनुसार शिक्षक विद्यार्थीबीच छलफल गरेर निर्धारण गरेको उनले बताए ।
महानगर प्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरी प्रअहरुसँग २८ बुँदे कार्य संपादन सम्झौता गरेको आचार्यले बताए । विद्यालयसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ र एसईईमा कति नतिजा पु¥याउन सकिन्छ भनेर लक्ष्य माग्दै त्रैमासिक परीक्षापछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्न थालेको पनि आचार्यले बताए । लक्षित नतिजा प्राप्त नभएसम्म सुविधासम्पन्न भवन, भौतिक संरचना र दक्ष जनशक्ति राम्रो हुँदैमा र विद्यार्थी सङ्ख्या बढी हुनुको कुनै अर्थ नरहने आचार्यको भनाई छ ।
अहिले महानगरले कक्षा ८ को प्रश्नपत्र मात्रै बनाएर पठाउँदा ९० देखि ९४ प्रतिशतसम्म उत्तिर्ण नतिजा आउने गरेको छ । कक्षा ९ र ११ को त शतप्रतिशत नै छ । तर, १० र १२ कक्षाको नतिजा चाँहि नराम्रो आउनुको कारण खोजी गर्न पनि यो सम्झौताले सहयोग गर्ने उनले बताए । आफैले प्रश्नपत्र बनाएर परीक्षण गर्दा राम्रो हुने, अर्काले बनाएको प्रश्नपत्रमा नराम्रो नतिजा आउनुको कारण शिक्षकमै कहीँ न कहीँ समस्या हुनसक्ने ठहर महानगरको छ ।
समग्रमा ५० प्रतिशतभन्दा बढी शिक्षक दरबन्दी आधारभूततह कक्षा ५ सम्म रहे पनि उनीहरुलाई कहीँकतै जवाफदेही बनाइदैन । यसले पनि नतिजा निर्धारणमा समस्या भएको बुझाई महानगरको छ । कक्षा ८ र एसईई नतिजा सुधार्न ५ देखि नै शिक्षकहरुलाई उत्तरदायी बनाउँदै लान सके निश्चय नै नतिजामा सुधार ल्याउन सकिने आचार्य बताउँछन् । कक्षा ५ सम्मका शिक्षकलाई राम्रो गर्दा प्रोत्साहन र नराम्रो गर्दा कारवाही गर्ने व्यवस्था नहुनु पनि कारण हुनसक्ने तर्क उनी गर्छन् ।
कक्षा ५ को अन्तिम परीक्षा पनि महानगरस्तरमा लिने वातावरण भए माथिल्लो तहको नतिजा सुधार हुने अनुमान छ । महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिने गरी भित्तामा टाँसेर हरेक आगन्तुकलाई हेर्न बुभ्mन सजिलो बनाईदिएको पनि जनाएको छ ।
महानगरले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय पनि २० वटा विद्यालयलाई महानगरले डिजिटल सिकाई सामग्री प्रदान गरेको छ ।