१ महिना अघि
२0८१ कार्तिक ३ शनिबारउदयपुर, कात्तिक ३
शुक्रबार एकैदिन सदरमुकामबाट ४ युवा लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका १२ का २० वर्षीय रुपन लिम्बु, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जिव थापा र त्रियुगा १३ का ३५ वर्षीय मलिन थापालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित स्पास्मो नामक लागूऔषध ५० क्याप्सुल तथा १५० ग्राम गाँजा बरामद भएको जनाएको छ ।
त्यसैगरी शुक्रबारै मोरङको उर्लाबारी नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालयको टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ६ का ३० वर्षीय प्रकाश बिक र ५१ वर्षीय काजीमान सार्की रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उता झापाको भद्रपुर नगरपालिका ३ स्थित प्रहरी चौकी मेचीपारीको टोलीले चेकजाँचको क्रममा हल्दीबारी गाउँपालिका २ का २५ वर्षीय बिष्णु राजवंशीलाई १ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित शुक्रबारै नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भईरहेको छ ।
झापा, मोरङ र सुनसरीमा लागूऔषध प्रयोगकर्ता र किनबेच गर्नेको सङ्ख्या अचाक्ली बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसएसपी भीम दाहालले बताए । उनका अनुसार धनकुटा, उदयपुर, इलाम, पाँचथर र तेरथुमजस्ता पहाडी जिल्लातिर पनि लागूऔषधको प्रयोग र किनबेच गर्ने काम बाक्लिदै गएको छ । महँगो र उच्च कोटीको मानिने खैरो हिरोईन (ब्राउन सुगर)को प्रयोग र किनबेच पनि केही वर्षयता ह्वात्तै बढेको छ ।
एसएसपी दाहालका अनुसार दुई चारवर्षअघिसम्म विदेशमा मात्र प्रयोग र किनबेच हुने गरेको खैरो हिरोइनको पछिल्लो समय नेपालमा बाक्लो किनबेच र प्रयोग हुन थालेको छ । भारतीय सीमा जोडिएको हुनाले झापा, मोरङ र सुनसरीमा दिनहुँजसो खैरो हिराईनको प्रयोग र किनबेच आरोपमा युवायुवति पक्राउ पर्ने गरेका छन् ।
भारतीय सीमा जोडिएको झापाको भद्रपुर, दमक, मेची, मोरङको विराटनगर, सुनसरीको भान्टाबारी नाका भएर ब्राउन सुगरसँगै अन्य विभिन्न किसिमका प्रतिबन्धित लागूऔषध नेपाल भिभत्रिने गरेको तथ्य पुष्टि हुँदै आएको छ ।
गाँजा भने नेपालकै पहाडी भूभागमा उत्पादन भएर चोरी निकासी हुँदै भारत पुग्ने गरेको प्रहरी भनाई छ । युवायुवतिको ठूलो हिस्सा लागूऔषधमा संलग्न भएकै आरोपमा पक्राउ परी हिरासत र कारागार भरिभराउ हुदै आएको एसएसपी दाहाल बताउँछन् ।