वर्षाले क्षति गरेको संरचना तत्काल पुननिर्माणका लागि सांसद राईको सरकारसँग माग

१ महिना अघि

२0८१ कार्तिक १ बिहीबार
वर्षाले क्षति गरेको संरचना तत्काल पुननिर्माणका लागि सांसद राईको सरकारसँग माग

उदयपुर, कात्तिक १

अविरल वर्षाको बाढी पहिरोले खोटाङमा क्षति गरेको भौतिक पूर्वाधार संरचनाको तत्काल पुननिर्माण गर्न नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले माग गरेका छन् ।


गएको असोज १२ गतेको वर्षाले जिल्लामा गरेको क्षतिको पुननिर्माण गर्न तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेशसभा तथा स्थानीयतका जनप्रतिनिधि र अगुवा नागरिकसहितको सर्वदलीय, सर्वपक्षीय टोलीका साथ सिंहदरवार पुगेका राईले क्षतिको विवरणसहित तत्काल पुननिर्माण र मर्मतसंभार तथा राहत उपलब्ध गराउन प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षणपत्र बुझाए । 


बाढी पहिरोले जिल्लामा अर्बभन्दा बढीको क्षति गरेको जानकारी गराउँदै राईले ध्वस्त भौतिक पूर्वाधार संरचना छिटोभन्दा छिटो मर्मत संभार र पुननिर्माण गरेर जनजीवन सहज बनाउन माग गरे । असोज १२ को बाढीले खोटाङ र उदयपुरबीचको फोक्सिन्टारस्थित पक्की र झोलुङ्गे पुलहरु बगाएर ध्वस्त पारेपछि उदयपुर हुँदै तराई जिल्ला तथा प्रदेश राजधानी विराटनगर आउजाउ बन्द भएको छ । 


यसरी प्राकृतिक नाकाबन्दीमा परेको जिल्लाबासीको जनजीवन सहज बनाउन ध्यानाकर्षण गराउँदै उनले त्यसका लागि राज्यले तत्काल काम सुरु गर्न माग गरेका छन् । गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्ति सुन नदीको एक मात्र पक्की मोटरेबल पुल बाढीले भत्काएपछि खोटाङ प्राकृतिक नाकाबन्दीमा परेको छ । 


यस्तो अवस्थाबाट पार पाउन सरकारले छिटोभन्दा छिटो पुल मर्मत गर्न तथा वारपार गर्ने बैकल्पिक व्यवस्था गर्न माग गरेको राईले बताए । ‘बाढी पहिरोका कारण हामी पुरै जिल्लाबासी प्राकृतिक नाकाबन्दीमा परेका छौँ त्यसैले भत्केको पुल, बिग्रका झोलुङगे पुलहरुलगायत अन्य क्षतिग्रस्त भौतिक संरचनाहरुको तत्काल मर्मत गर्न सरकारसमक्ष माग गरेका छौँ’ सांसद राईले भने ‘फोक्सिन्टारको पक्की र आधादर्जन बढी झोलुङगे पुलहरु भत्केर अवरुद्ध हुन पुगेको सोझो यातायात तत्काल सुचारु गर्ने बिकल्पको माग गरेका छौँ ।’ 


फोक्सिन्टारको पुल बगेसँगै राजधानी काठमाडौँ आउजाउ गर्ने एक मात्र बैकल्पिक मार्ग ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ पनि दर्जन हाराहारी ठाउँमा भत्के बिग्रेको जानकारी प्रधानमन्त्रीलाई गराएको सांसद राईले बताए । जिल्लाबासीका लागि सबभन्दा सजिलो र बीचमा पर्ने नाका फोक्सिन्टारको पुल नै बगेको, फोक्सिन्टारभन्दा तल र माथि सुन नदीकै ६ वटा झोलुङगे पुलहरु प्नि भत्केकाले दुई जिल्लाबासीलाई आउजाउ गर्न धेरै कठिनाई भईरहेको कुरा जानकारी गराएको उनले बताएका छन् । 


प्रदेश सरकारका पूर्व खानेपानी तथा सिंचाईमन्त्रीसमेत भईसकेका सांसद राईले पुल र लोकमार्गहरुसँगै बाढी पहिरोले सयौँ ठाउँमा सिँचाइ कुलो, स्थानीय सडकहरू, खानेपानी योजनाका पाईप, घर गोठ, पशु चौपाया र पन्छी तथा अन्नबालीमा पनि ठूलो क्षति पुगेको जानकारी दिएका छन् । भौतिक संरचनाको पुननिर्माण र मर्मतसँगै कृषक र बाढी पहिरो पीडित स्थानीयलाई राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष माग गरेको उनको भनाई छ । 


प्रधानमन्त्री ओलीले ध्यानाकर्षणपत्र बुझ्दै फोक्सिङटारको पुल पुननिर्माण कार्य थाल्ने र तत्काललाई अस्थायी बेलिबृज जडान गर्न अव बस्ने मन्त्रिपरिषद बैठकमै निर्णय गर्ने प्रतिबद्धता जनाएको राईले बताए । आफुहरुको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएको उनले बताए । ‘हाम्रो मागप्रति उहाँ सकारात्मक देखिनुभएको छ, फोक्सिन्टार जिल्लाबासीको लाईफलाईन नाका भएकाले पनि तत्काल पुल नभई नहुने अवस्था छ’ सांसद राईले भने ‘यसको गाम्भीर्यतालाई बुभेर नै तत्काल कदम चाल्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनु भएको छ ।’
 

बाढी पहिरोले खोटाङमा पु¥याएको क्षतिको तत्काल पुननिर्माण र मर्मत तथा राहत व्यवस्थपनको माग गर्न असोज २३ गते सांसद राईले सर्वपक्षीय भेला काठमाडौँमै बोलाएका थिए । त्यहाँ सम्पन्न सर्वदलीय÷सर्वपक्षीय भेलाले क्षति विवरणसहित आवश्यक राहत, पुननिर्माण र मर्मतका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीहरूको ध्यानाकर्षण गराउने निर्णय गरे अनुसार टोली सिंहदरवार पुगेको हो । 


उनीसँगै प्रतिनिधिमण्डलमा खोटाङबाट निर्वाचित प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके), संविधानसभा सदस्यहरू समिता कार्की (अस्मिता), दुर्गाजयन्ती राई, उषाकला राई, राजनीतिक अगुवाहरु हरि रोका, अर्जुन राई, हीरा गुरुङ पनि सहभागी थिए । त्यस्तै पूर्व सांसदहरू टंक राई, कुलप्रसाद फुयाल, पूर्व प्रदेश सामाजिक विकास मन्त्री राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईलगायत विभिन्न स्थानीयतहका जनप्रतिनिधि पनि टोलीमा सहभागी थिए । 


अविरल वर्षाले उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेबीचमा पर्ने फोक्सिङटारको पुल बगाएर गाईघाट दिक्तेलको सोझो यातायात सम्पर्क विच्छेद भएको छ । त्यसैगरी जिल्लाका आन्तरिक ग्रामीण सडकहर ९० प्रतिशत ध्वस्त भएका काराण् सदरमुकामदेखि स्थानीयतहबीचको आउजाउमा पनि कठिनाई उत्पन्न भएको छ । 


बाढीले पहिरो खसेका कारण अवरुद्ध हुन पुगेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत घुर्मी–हलेसी–दिक्तेल र दिक्तेल–चखेवा भञ्ज्याङ खण्डको पहिरो पन्छाएपछि केही दिनयता यातायात सुचारु भएको छ । १२ गतेकै बाढीले उदयपुरसँग जोडिएका वंशीलाघाट, धाब्लाङ, भडारेघाट, भाडबेँसी, कुनाई र नैकुघाटका झोलुङ्गे पुलहरु प्नि भत्काएको थियो । ती पुलहरु भने सम्बन्धित स्थानीयहले सातादिनसम्म लगाएर मर्मत गरेपछि काम चलाउ सञ्चालनमा आएका छन ।