१ महिना अघि
२0८१ आश्विन ३0 बुधबारउदयपुर, असोज ३०
उदयपुरमा ‘६९ औँ प्रहरी दिवस’ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बुधबार जिल्ला प्रहरी परिसरमा आयोजित कार्यक्रममा अमर प्रहरी परिवार, जनप्रतिनिधि, प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र खेलाडी, राजनीतिककर्मी तथा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा दिवस मनाइएको हो ।
कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारी, ब्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडीहरु र अमर प्रहरी परिवारलाई पुरस्कार तथा सम्मान गरिएको थियो । व्याडमिन्ट खेलतर्फ विजयी खेलाडीहरु ए डिभिजनतर्फ सशस्त्र प्रहरीका मोति राई र हिमाल श्रेष्ठको जोडी, उपविजेता सन्तोष कटुवाल र विनय चौधरी तथा तेस्रो बलबहादुर कार्की र शौरभ ठकुरीको जोडी र बादल खतिवडा र गोबिन्द थापाको जोडी पुरस्कृत भए ।
त्यसैगरी बी डिभिजनतर्फ प्रथम नेपाल प्रहरीका नरबहादुर राई र रुपकुमार धामीको जोडी, उपविजेता प्रहरीकै प्रकाश बस्नेत र दिपक राईको जोडी तथा तेस्रो स्थान पाउने प्रहरीकै बवीन राई र गणेश बिष्टको जोडी र केशब बस्नेत र गुणराज बञ्जराको जोडी पनि पुरस्कृत भयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख गौरबहादुर विशवकर्मा, त्रियुगा नगरप्रमुख बसन्तबस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी, सशस्त्र प्रहरीका एसपी सरोजसिंह बस्नेतलगायतले विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उता खोटाङमा प्रहरीले दिवसको अवसर पारेर जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । ‘६९ औँ प्रहरी दिवस’को अवसरमा जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा बाराहापोखरी गाउँपालिकाका जग्गादाताहरु वीरबहादुर राउत, अम्बिका मगर र प्रविन तामाङलाई सम्मान गरिएको हो ।
बाराहापोखरी गाउँपालिकास्थित प्रहरी चौकी भवन निर्माणार्थ दातात्रयले ५ रोपनी १ आना जग्गा निःशूल्क दान गरेका छन् । ७० लाख बढी मूल्य बराबरको जग्गा निःशूल्क उपलब्ध गराएको योगदानको कदर गर्दै सम्मान गरिउको प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टले बताए ।
उनीहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राई र डिएसपी विष्टले संयुक्त रुपमा दोसल्ला, खादा र अविर टीका लगाएर जग्गादाताहरुलाई सम्मान गरेका थिए ।
खोटाङमा पन िव्याडमिन्टन प्रतियोगिताका विजेता खेलाडी, उत्कृष्ट प्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सदस्यहरु तथा यस वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण विद्यार्थीलाई पनि प्रहरी दिवसको अवसरमा पुरस्कार तथा सम्मान गरिएको छ ।