१ महिना अघि
२0८१ आश्विन २९ मंगलवारउदयपुर, असोज २९
४ महिनाअघि मात्र नयाँ दुलहीको रुपमा भित्रिएकी २० वर्षीया निङमा याङजी शेर्पा घरभित्रै मृत भेटिएकी छिन् । दसैँ टीकाको भोलिपल्ट राति घरमै डोरीको पासो लगाएर आत्महत्या गरेको भनिएकी निङमाको माईती पक्षले भने हत्या गरेको दावी गरेको छ ।
लिमचुङबुङ ३ बाराहा नगरे माईती भई सोही वडाको पिप्ले घरमा निङमा घाँटीको डोरी फुकाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घाँटीको डोरी फुकाएको भेटिएकाले निङमाले आत्महत्या गरेको नभई हत्या गरेको हुनसक्ने भन्दै बाउ गञ्जु शेर्पाले सख्त कारबाहकिो माग गरेका छन् । दसैँ टीकाको दिन माईत ससुराली आएका छोरी–ज्वाँईलाई भोलिपल्ट घरसम्म पु¥याउन लगेको बताउँदै शेर्पाले सोही रात छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दावी गरे ।
‘टीकाको दिन माईत ससुराली आएका छोरी ज्वाँईलाई भोलिपल्ट घरसम्मै पु¥याउन लगेका थियौँ’ छोरीको मृत्युले भावविह्वल शेर्पाले भने ‘मेरी छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन, झुण्डिएको भए घाँटीमा डोरी छैन । ज्वाँई र परिवार मिलेर मारेको हुनुपर्छ ।’ शेर्पाले घट्नाको निश्पक्ष छानविन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेका छन् । छोरीको हत्या नै भएको भन्दै शेर्पाले आत्महत्या दुरुत्साहनको जाहेरी प्रहरीमा दिएका छन् ।
श्रीमान क्षेत्रले भने झुण्डिएको देखेर बचाउन सकिन्छ कि भनेर हतार हतार डोरी काटेर खुस्काईदिएको दावी गरेका छन् । श्रीमति कोठामा झुण्डिएको देखेर बचाउन सकिन्छ कि भनेर डोरी काटेर खाटमा राखेको तर, त्यसबेलासम्म निङमाको प्राण गईसकेको क्षेत्र भुजेललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
वडाध्यक्ष गुरुमणि कुमाईले उकार्कालाई अत्याधिक माया गर्ने शेर्पा र भुजेलको बिहे सामाजिक परम्परा अनुसार गत जेठ १० गतेका दिन भएको बताए । वैदेशिक रोजगारीबाट फर्केका क्षेत्र र निङमाबीच अहिले पनि प्रेम घटेको थिएन । तर, पछिल्लो समय क्षेत्र घर नबस्ने, गाउँतिर बढी घुम्न जाने, तास, क्यारिमबोर्ड खेल्ने, कहिलेकाही त बास बस्न घरै नआउने गरेपछि निङमाले उनलाई सँगै बस्न नसक्ने चेतावनी दिदै माफी मगाएको कुरा वडाध्यक्ष कुमाईले सुनाए ।
घट्नाको दिन पनि क्षेत्र गाउँमा तास खेल्दै गरेको अवस्थामा निङमाले रङगेहात भेटेको जानकारी कुमाईले दिएका छन् । तर, हत्या हो वा आत्महत्या भन्ने कुरा भने प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टबाट मात्र भन्न सकिने वडाध्यक्ष कुमाईले बताए ।
मृतकको शव मङगलबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईले घट्नाबारे अनुसन्धान सुरु भईसकेको तर, पोष्टमार्टम रिपोर्ट नआएसम्म यसै हो भन्न नसकिने बताए ।
माईती पक्षको जाहेरीका आधारमा नियन्त्रणमा लिइएका मृतकका श्रीमान क्षेत्र भुजेललाई हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाइएको डिएसपी चापागाईले बताएका छन् ।