रौता स्प्रिङ खानेपानीमा फोहोर, पत्रकारमाथि आक्रमणको सर्वत्र विरोध

१ महिना अघि

२0८१ आश्विन २४ बिहीबार
रौता स्प्रिङ खानेपानीमा फोहोर, पत्रकारमाथि आक्रमणको सर्वत्र विरोध

उदयपुर, असोज २४

अघिल्लो साँझ पत्रकारमाथि भएको आक्रमण र क्यामेरा तोडफोड गर्ने गैरकानुनी क्रियाकलापको सर्वत्र विरोध भईरहेको छ । गाईघाटबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिक र पूर्णपुष्टि डटकमका सञ्चारकर्मी विक्रम राई र सुनिल राईमाथि भएको हातपात तथा औजार उपकरण तोडफोडको नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति तथा सेन्टरको उदयपुर शाखाले विज्ञप्ती प्रकाशित गरी विरोध जनाएका हुन् । 


छुट्टाछुट्टै प्रकाशित विज्ञप्तीमा स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षपकारी घट्नाको चर्को भत्र्सना र निन्दा व्यक्त गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न र घट्नाको निश्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ । 


सिलबन्दी खानेपानीमा कैफियत (फोहोर) फेला परेपछि तथ्य पुष्टि गर्न प्रशोधित पानी उत्पादन कम्पनी रौता स्प्रिङ वाटर प्रालिमा पुगेका पत्रकारद्वय राईमाथि कम्पनीका सञ्चालक पर्शुराम चौधरीलगायतको टोलीले हातपात गर्दै उनीहरुको क्यामेरा र मोवाईल खोसेर तोडफोड गरेका थिए । 


कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा कम्पनीद्वारा उत्पादन भई विक्री गरेको सिलबन्दी जारको खानेपानीमा कुखुराको प्वाँख भेटिएको थियो । सो घट्नाको पुष्टि गर्न सम्बन्धित पानी प्रशोधन कम्पनी पुगेका पत्रकारद्वयलाई चौधरीसहितले तथानाम गाली गलौज गर्दै हातपातको प्रयास गर्दै औजार उपकरण खोसेर फुटाईदिएको पीडितको दुखेसो छ । 


बुधबार साँझको घट्नाबारे प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाललगायत सञ्चार सँस्थाहरुलाई जानकारी गराई सके पनि कारबाहीको प्रक्रिया सुरु नभएको पीडितको गुनासो छ । पूर्णपुष्टि मिडियाका सञ्चालक पत्रकार महासंघ उदयपुरका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत हुन् । उनी कान्तिपुर टेलिभिजनका संबाददाता पनि हुन् । 

  
पीडितमध्ये पत्रकार विक्रम राई पूर्णपुष्टि डटकमका समाचार प्रमुख, प्रेस सेन्टर नेपाल उदयपुर शाखाका कोषाध्यक्ष तथा एभिन्युज टेलिभिजनका उदयपुर संवाददातासमेत हुन् । अर्का पीडित सुनिल राई पूर्णपुष्टिका क्यामेरापर्सुन तथा संबाददाता हुन् । 

 

उपभोक्ताको हितमा केन्द्रित हुँदै सूचना संकलन र संप्रेषणमार्फत जमाज रुपान्तरणका लागि अहोरात्र खट्ने निहत्था पत्रकारमाथि दिनदाडै उद्योपतिले आक्रमण गर्नु गम्भीर निन्दनीय र भत्र्सनायोग्य क्रियाकलाप हो । यसले नेपालको संविधान ०७२ ले प्रत्याभूत गरेको नागरिकको मौलिक हकभित्र पर्ने स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता तथा उपभोक्ता हितलाई ठाडो चुनौति दिएको छ । 


पूर्णपुष्टि मिडियाले यस्ता खाले घट्नाले प्रेस स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको गम्भीर उल्लंघन गरेको निश्कर्ष निकाल्दै घट्नाप्रति सत्यतथ्य छानविन गरी दोषीमाथि यथासिघ्र कानुनी कारबाहीको माग गरेको छ ।