डिभोर्सपछिको सम्बन्धले हत्या निम्त्यायो

१ महिना अघि

२0८१ आश्विन २३ बुधबार
डिभोर्सपछिको सम्बन्धले हत्या निम्त्यायो

जलजले, असोज २३

एकवर्षअघि सम्बन्ध विच्छेद गरेर अलग भएका जंगबहादुर तामाङ र उर्मिला असोज  १३ गतेदेखि सँगै बस्न थाले । भारतमा मजदुरी गर्न गएका ३६ वर्षीय जंगबहादुर दसैँ मान्न घर फर्केपछि २९ वर्षीया पूर्व श्रीमति उर्मिलासँगै बस्न थाले ।


त्रियुगा नगरपालिका ६ जलजले बजारमा चिया पसल गर्दैै बसेकी उर्मिलालाई छाडेको श्रीमति भए पनि ६ र ९ वर्षका २ छोराहरु उनीसँगै बसेको र पढाई खर्च आफैले धान्दै आएकाले पनि पुनः भेट हुन गयो । २÷४ दिन राम्रै सम्बन्ध राखे तर, उनीहरुबीच पूर्ववत झगडा सुरु भयो । एकले अर्कोलाई दोष लगाउन, कमजोरी औँल्याउन थालेपछि झगडा चर्कियो, अन्ततः उर्मिलाको हत्या गर्नेसम्मको गम्भीर अपराध गर्ने हदसम्म पुगे जंगबहादुर ।


मङ्गलबार साँझ श्रीमतिको हत्या गरेर बजारमा खुलेआम बर्बराउँदै हिडेका तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । 


प्रहरीका अनुसार ताप्ली गाउँपालिका ४ ठानागाउा स्थायी घर भएका जंगबहादुर र रौतामाई १ माझखर्ककी उर्मिलाको विहे ०७१ मा भएको हो । २ छोराका बाउ आमा उनीहरु सँगै बस्न नसक्ने भन्दै ०७९ मा पारपाचुके गरेको प्रारम्भिक बयान तामाङले दिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईले छोराहरुको पढाईका लागि दुःखले कमाएर पठाएको खर्च उर्मिलाले दुरुपयोग गरेकाले घ्टना भएको सुरुआती बयान तामाङले दिएको बताए । पढ्ने, खर्च बाउले बेहोर्ने सहमति अनुसार खर्च पठाउदा परपुरुषसँग मोजमस्ती गरेर उडाउने गरेको विषयमा झगडा हुँदा यस्तो अप्रिय घट्ना हुन गएको प्रारम्भिक निश्कर्ष निस्केको डिएसपी चापागाईले बताए । 


तर, यो प्रारम्भिक बयान मात्र भएकाले सबै कुरा खुल्न थप अनुसन्धान पर्खनुपर्ने उनी बताउँछन् । ‘यो प्रारम्भिक रिपोर्ट हो, सबै कुरा खुल्न थप अनुसन्धान गर्नुपर्छ’ चापागाईले भने ‘त्यसका लागि अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाउँछौँ ।’


दसैँ तिहारको मुखमा बजारमै एउटा खाउँखाउँ लाउँलाउँ उमेरकी महिलाको निर्मम हत्या भएपछि जलजले बजार स्तभ्ध भएको छ ।