उदयपुरमा वन्यजन्तु पत्ता लगाउन थप वन समूहमा क्यामेरा राखिदै

१ महिना अघि

२0८१ आश्विन २0 आईतवार
उदयपुरमा वन्यजन्तु पत्ता लगाउन थप वन समूहमा क्यामेरा राखिदै

उदयपुर, असोज २०

यसअघिको अध्ययनले उदयपुरमा डेढदर्जन प्रजातिका वन्यजन्तु रहेको तथ्य फेला परेसँगै अन्य तथ्य पत्ता लगाउन वनमा क्यामेरा राख्न लागिएको छ । झडै १ वर्षअघि उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ४, ५ र ६ नं. वडाका विभिन्न १३ वटा सामुदायिक वन समूहको जङगलमा राखेको क्यामेराको अभिलेखले १८ प्रजातिका वन्यजन्तु फेला परेको थियो । 


केहीदिनअघि सार्वजनिक क्यामेरा ट्र्यापिङको अभिलेखले चितुवा, नील गाई, वन बिरालो, सानो नीर विरालो, ठूलो नीर बिरालो, गाजले नीर बिरालो, चरी बाघ, बँदेल, पाटे भालु र रतुवा मृग रहेको तथ्य फेला परेको थियो । सरस्वति वन समूहले आयोजना गरेको ‘रेकर्ड सार्वजनिक कार्यक्रम’मा सो तथ्य फेला परेसँगै अन्य जङ्गलमा पनि वन्यजन्तुको प्रकार पत्ता लगाउन क्यामेरा राख्ने योजन ाबनेको सरस्वति वन समूहका अध्यक्ष दिपक बान्तवाले बताए । 


उनका अनुसार प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी) नेपालले अन्तराष्ट्रिय समुदाय संरक्षण (आईसिसी)सँगको सहकार्यमा सामुदायिक वन महासंघसँगमार्फत उदयपुरमा पाइने स्तनधारी वन्यजन्तुको अध्ययन गर्न क्यामेरा ट्र्यापिङ गरेको थियो । ०८० पुसमा राखिएका क्यामेराले १० महिना अवधिमा कैद गरेको वन्यजन्तुको गतिबिधिको भिडियो रेकर्डले सो तथ्य पुष्टि गरेको हो ।


अध्यक्ष बान्तवाले गतवर्ष राखिएका क्यामेरा झिकेर सरस्वति वन समूहकै कार्यालयमा राखिएको बताए । उनले छिमेकी चौदण्डीगढी नगरपालिकाका वन समूहको जङ्गलमा क्यमेरा जडान गर्ने तयारी भईरहेको बताए । 

 

सहायक डिभिजन वन अधिकृत जागेश्वर साहले अन्य वनमा थप कुन कुन वन्यजन्तु भेटिन्छन् भन्ने यकिन गर्न अरुमा पनि ‘क्यामेरा ट्र्यापिङ’ गर्न लागेको पुष्टि गरे । उनले पहिलो चरणमा देउरी सवडिभिजनभित्र पर्ने १३ सामुदायिक वनमा अध्ययन गर्दा १८ प्रकारका वन्यजन्तु भेटिएको र अव अरु वनमा थप प्रजातिका छन् छैनन् भन्ने यकिन गर्न क्यामेरा राख्न लागेको बताए । 

वन्यजन्तुको अध्यययन कार्यलाई जिल्लाव्यापी बनाउन ‘एउटा अन्तरसामुदायिक वन समूहको सञ्जाल पनि गठन गरिएको छ । बान्तवाकै संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा विभिन्न सामुदायिक वन समूहमा आबद्ध पदाधिकारीहरु सदस्य रहेको सवडिभिजन वन कार्यालय देउरीले जनाएको छ ।