राजावास फुटबल घरेलु टिमले जित्यो 

१ महिना अघि

२0८१ आश्विन १९ शनिबार
राजावास फुटबल घरेलु टिमले जित्यो 

मुर्कुची, असोज १९

उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीको राजाबासमा सम्पन्न फुटबल प्रतियोगिता घरेलु टिम राजाबास फुटबल क्लबले जितेको छ । सातादिनअघि सुरु भई शनिबार सम्पन्न फाईनलमा राजाबासले टाईब्रेकरमा रौता स्पोर्टस् क्लब मुर्कुचीलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
 

राजाबास युवा सञ्जालद्वारा आयोजित प्रतियोगितामा निर्धारित ६० मिनटको समय दुवैपक्षबाट गोलरहित सकिएपछि टाईब्रेकरमा नतिजा निकालिएको हो । टाईब्रेकरमा गोल हान्ने अवसर पाएका ५–५ खेलाडीमध्ये राजाबासका ४ को प्रहारले जाली चुमेको थियो भने रौता स्पोर्टसका २ खेलाडीले मात्र गोल गर्न सफल भए । 


प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रौताका निमा शेर्पा घोषित हँुदै नगद र ट्रफि पुरस्कार पाए । प्रतियोगिता विजेता राजाबासलाई १ नं. प्रदेश उपसभामुख सृजना दनुवारले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिन् । त्यस्तै उपविजेता रौतालाई १० हजार र सिल्ड तथा प्रमाणपत्र प्रदान गरिन् ।


प्रतियोगितामा रौतामाईका विभिन्न वडा तथा छिमेकी उदयपुगढी गाउँपालिका र त्रियुगा नगरपालिकाका गरी १२ खेल समूहले भाग लिएको आयोजक सञ्जालका अध्यक्ष कृष्ण राईले बताए । गामिण भेगमा लुकेर रहेका खेलाडीहरु पनि अवसर पाए  राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलाडी बन्न सक्ने भएकाले खेलकुद कार्यक्रम गरेको उनले बताए । 
 

खेलाडीलाई पुरस्कार वितरण गर्दै उपसभामुख दनुवारले खेलकुदले युवाहरुलाई अनुशासित, गतिसिल तथा राष्ट्र र समाजप्रति प्रतिबद्ध हुन सिकाउँने भएकाले खेलकुद क्षेत्र देश र समाजका लागि गौरवको विषय भएको बताईन् । ग्रामिणभेगका खेलाडीको प्रतिभा मौलाउन दिनका लागि राज्यले खेलकुदक्षेत्रको बृहत्तर विकास गर्ने योजना प्रदेश सरकारले अघि बढाएको पनि उनले बताईन् ।