१ महिना अघि
२0८१ आश्विन १८ शुक्रबारउदयपुर, असोज १८
असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण भत्के बिग्रेर यातायात सम्पर्क विच्छेद भएको उदयपुरको बिकट पहाडी ताप्ली गाउँपालिका जोड्ने सडकहरु सुचारु भएका छन् । ताप्लीबासीले खाद्यान्न तथा अन्य उपभोग्य सामग्री आपूर्ति गर्ने मुख्य व्यापारिक केन्द्र कटारी बजार र अर्को व्यापारिक नाका घुर्मी बजवार जोड्ने सडकहरु सुचारु भएका हुन् ।
मदन भण्डारी लोकमार्ग हुँदै कटारी बजारदेखि सिद्धिचरण लोकमार्गको बेतिनीबाट छुटेको शाखा सडकले ताप्ली गाउँपालिकालाई सदरमुकाम गाईघाटसँग जोडेको छ । सिद्धिचरण लोकमार्गको मिर्चया-कटारी-घुर्मी खण्डको बेतिनीबाट छुट्ने शाखा सडक बेतिनी-नुनथला-पिपल भन्ज्याङ-कुमालटार हुँदै ताप्ली गाउँपालिका केन्द्र रुपाटार जोडिएको सडक धेरै ठाउँ भत्केर यातायात आवागमन रोकिएको थियो ।
अविरल वर्षाले दर्जनौँ ठाउँमा भत्किएको सो सडक र सिद्धिचरणको बेतिनी-कटारी खण्डमा पनि आधादर्जन बढी ठाउँ भत्केर यातायात अवरुद्ध भएकोमा रातारातको मर्मतपछि विहीबारदेखि नै सञ्चालनमा आएको छ । ताप्लीको आफ्नै स्काभेटर, प्राविधिक तथा मिर्चया-कटारी-घुर्मी सडक आयोजना कार्यालय कटारीको जनशक्ति र यन्त्र उपकरणको सहयोगमा ३ दिन लगातार मर्मत गरेपछि कटारी-बेतिनी सडक सुचारु भएको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताए ।
उनका अनुसार कटारीसँगै घुर्मी जोड्ने अर्को सडक पनि मर्मत गरेपछि सुचारु भएको छ । ताप्लीका आन्तरिक सडकहरु प्नि सबै शुक्रबारदेखि सुचारु भएको अध्यक्ष विश्वकर्माले बताएका छन् । गाउँपालिका केन्त्द्र रुपाटारसँग जोडिएका ५ वटै वडाका आन्तरिक सडकहरु पनि लगातार ५ दिनसम्म लगाएर मर्मत गरेपछि सञ्चालनमा आएको अध्यक्ष विश्वकर्माले बताए ।
अविरल वर्षाले कटारी-बेतिनी-रुपाटार खण्ड र रुपाटार-घुर्मी सडक बिग्रेकाले ताप्ली प्राकृतिक नाकाबन्दीमा परेको थियो । आन्तरिक सडकहरु पनि बग्रेल्ती बिग्रेर कटारीदेखि भित्र्याउनु पर्ने खाद्यान्न र उपभोग्य सामग्रीको अभाव हुने संभावना बढेपछि हतारहतार सडक मर्मत गरेर सुचाारु गरिएको अध्यक्ष विश्वकर्माले बताए ।
दुवै सडक सुचारु भएपछि ताप्लीदेखि काठमाडौँ छुट्ने यात्रुबाहक बसहरु पनि शुक्रबारदेखि सञ्चालन हुन थालेको उपाध्यक्ष धनामाया मगरले बताईन् । उनका अनुसार सडक बिग्रेपछि सातादिनयता दुवै रुटबाट काठमाडौँ आउजाउ रोकिएको थियो । मर्मत गरेपछि ताप्लीबाट राजधानी काडमाडौँ जाने र राजधानीबाट ताप्ली आउने दोहोरो बसहरु सुचारु भएको यातायात व्यवसायी शत्रुधन कार्कीले बताए ।
ताप्लीदेखि राजधानी जाने साविक सडक विपी लोकमार्ग बिग्रेका कारण ताप्लीबासीले पनि लामो दूरीको घुमाउरो यात्रा गर्नु पर्ने भएको छ । साविकको साटो ताप्ली-कटारी-सिन्धुली-हेटौँडा हुँदै राजधानी पुग्ने बैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । घुर्मी भएर जान चाहने यात्रुहरु ताप्ली-घुर्मी-सिन्धुली-हेटौँडा-फर्पिङ हँुदै राजधानी पुग्ने गन्तव्य तय गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भक्त राईले नजिकिएको चाडपर्वलाई लक्षित गरी बिग्रेका सडकहरु तत्काल मर्मत गरेर सञ्चालनमा ल्याइएको बताए । चाडपर्व नजिकिएका बेला विपतले पारेको समस्याबाट गाउँपालिकाबासीलाई सहज बनाउन जनप्रतिनिधि र प्राविधिक कर्मचारी अहोरात्र खटेर सडकहरु सुचारु गरिएको हाकिम राईले बताए ।
सडकहरु बनेपछि नजिकिएको दसैँ, तिहारमा खाद्यान्न तथा उपभोग्य सामग्री किनमेल तथा राजधानी र अन्य ठाउँबाट घर आउजाउ गर्न सजिलो भएको हाकिम राईले बताए ।