१ महिना अघि
२0८१ आश्विन १७ बिहीबारउदयपुर, असोज १७
केही दिनअघिको अविरल वर्षाले उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकामा ३६ घर ध्वस्त पारेको छ भने १ सय ८ घरमा क्षति गरेको छ । ३ विद्यालय र ५ वटा पुल तथा सडक बगाएर क्षति गरेको छ ।
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाका ५ वटै वडामा धनमालको क्षति गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताएका छन् । वडा नं. १, २, ३ र ५ नं. वडामा समान ५–५ घर पूर्णरुपमा क्षति गरेको हाकिम गुरुङले बताएका छन् । उनका अनुसार सबभन्दा बढी वडा नं. ४ बलम्तामा १२ घर ध्वस्त भएका छन् ।
बलम्तामा वर्षाले २२ घरधुरीमा क्षति गरेको छ । जसमध्ये राजेश राईको एउटा घर र मतानसहित खसी बाख्रासहित ७ घर पूर्णरुपमा ध्वस्त भएका छन् । राईको मात्र घर र बाख्रा खसी गरी १० लाख हाराहारी क्षति पुगेको छ । बलम्तामा १२ परिवारलाई वर्षाले पूर्णरुपमा विस्थापित गरेको छ । वर्षाका कारण पहिरोले बलम्तामा १५ घरमा आंशिक क्षति पुगेको छ भने ७५ जना जनसंख्या विस्थापित भएको वडाध्यक्ष छत्रबहादुर राईले बताए ।
त्यसैगरी वर्षाले वडा नं. १ बाँसबोटेमा ३६ घर क्षति गरेकोमध्ये ५ घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ३१ घरमा सामान्य क्षति पुगेको वडाध्यक्ष जनदिप थापा मगरले बताए । उनका अनुसार ४ दिनसम्म लगातार परेको पानीले बाटोघाटो सबै बिगारेको छ भने खेतबारीमा पनि व्यापक क्षति गरेको छ ।
एता वडा नं. २ ताम्लिछामा पनि वर्षाको क्षति डरलाग्दो भएको छ । ताम्लिछामा २० घरमा क्षति पुगेको छ भने ९ घर विस्थापित भएका छन् । ताम्लिछाका ४ घर पूर्णरुपमा भत्किएर ध्वस्त हुँदा १६ घरमा आंशिक क्षति पुगेर ४० जना प्रभावित भएको वडाध्यक्ष जितेन्द्र राईले बताए ।
गाउँपालिका केन्द्रसमेत रहेको वडा नं. ३ बाराहामा १० घर प्रभावित हुँदा ५ घर पूर्णरुपमा क्षति भएको छ भने ३२ जना प्रभावित भएको वडाध्यक्ष गुरुमणि कुमाईले बताएका छन् । त्यसैगरी ५ नं. वडा जाँतेमा ५ घर ध्वस्त हुदा १५ घरमा आंशिक क्षति भएको छ । जाँतेमा अविरल वर्षाका कारण ३० जना प्रभावित भएको वडाध्यक्ष कविचन्द्र राईले बताएका छन् ।
वर्षाले गाउँपालिकाभरी ३ वटा विद्यालयमा पूर्ण क्षति गरेको छ भने ३ वटामा आंशिक क्षति पु¥याएको छ । त्यसैगरी ८ सय रोपनीको बालीनाली नष्ट गरेको छ भने १ हजार २ सय रोपनी जमिनमा बाढी पहिरो पसेर क्षति गरेको छ । त्यसैगरी ५० वटा सुँगुर, भैँसी, गाई, बाख्रा, खसीजस्ता पशु चौपाया पनि मरेर क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
वर्षाले भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक राहतका लागि जिल्ला विपत व्यवस्थापन समिति (जिल्ला प्रशासन कार्यालय)लाई जानकारीसहित पत्राचार गरिएको हाकिम गुरुङले बताए । उनका अनुसार वर्षाले बिग्रे भत्केका सडक, पुल तथा अन्य भौतिक संरचनाको तत्काल पुनःनिर्माणका लागि पनि सम्बन्धित तालुक कार्यालयलाई आग्रह गर्दै पत्राचार गरिएको छ ।