१ महिना अघि
२0८१ आश्विन १७ बिहीबारउदयपुर, असोज १७
गत शनिबारको बाढीले गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीका पक्की पुल बगाएपछि खोटाङबासीलाई घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा–फर्पिङको रुट भएर काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता आईपरेको छ ।
गाईघाट–दिक्तेल सोझो यातायात जोडिएको लोकमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टारको पुल बगेपछि सो रुटबाट काठमाडौँ आउजाउ गर्नुपर्दा जिललाको दक्षिण–पूर्वी भेगका नागरिकलाई दोब्ब्रभन्दा बढी दूरी पार गर्नुपर्ने निर्विकल्प अवस्था आएको हो ।
उदयपुरको कटारी नगरपालिका १४ र ओखलढुङ्गाको हर्कपुरको घुर्मीस्थित सुन नदीमा फलामे ट्रस प्रविधिमा निर्मित पुल पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत एक दशकअघि सञ्चालनमा आएको हो । झण्डै डेढ दशक लगाएर ३ वर्षदेखि सञ्चालन हुन थालेको फोक्सिन्टारको पक्की पुल बाढीले बगाए पनि दशकअघि बनेको घुर्मीको ट्रस पुल भने बाढीले बगाउँन नसक्दा लामो दूरी नै भए पनि खोटाङबासीलाई काठमाडौँ आउजाउ गर्ने विकल्प भने बँचेको हो ।
फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ । प्रालिका महासचिव राजकुमार हिङमाङे सदरमुकाम दिक्तेलदेखि घुर्मी–सिन्धुली–बर्दीबास–हेटौँडा हुँदै काठमाडौँ गाडी सुचारु भएको बताए । सो रुट भएर राजधानी आउजाउ गर्न एकतर्फी १५ घण्टा लामो यात्रा गर्नुपर्ने भएको छ, जव कि यसअघि ५ देखि ७ घण्टामा एकतर्फी यात्रा सकिन्थ्यो ।
घुर्मी–खुर्कोट–नेपालथोक–धुलीखेल हँुदै राजधानी जोडिएको साविक बिपी लोकमार्गको आधादर्जन बढी ठाउँ भत्केर अवरुद्ध भएकाले घुर्मीदेखि सिन्धुली, महोत्तरीको बर्दीबास, मकवानपुरको हेटौँडा–फर्मिङ हुँदै काठमाडौँ आउजाउ गर्नुपरेको हिङमाङ बताउँछन् । दशैँ, तिहार तथा छठजस्ता चाडपर्व नजिकिएका कारण जुनसुकै विकल्प अपनाउँदै पनि यातायात सुचारु गर्नैपर्ने बाध्यता आईपरेकाले बुधबारदेखि नियमित बस चलाउन थालिएको हो ।
मध्यपहाडी लोकमार्गले घुर्मीदेखि खोटाङको हलेसी–दिक्तेल हँुदै भोजपुर सीमा चखेवाभन्ज्याङ जोडिएको छ । दिक्तेल र आसपासका नागरिकलाई घुर्मी नाका भएर काठमाडौँ आउजाउ गर्न केही सहज भए पनि दक्षिण–पूर्वी भेगका नागरिकलाई निकै लामो र घुमाउरो यात्रा गर्न बाध्यता आईलागेको छ । त्यसमाथि दिक्तेलसम्म जोडिएका आन्तरिक सडकहरु सबै पहिरोले ध्वस्त बनाएका कारण थप समस्या परेको प्रालिले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले जिल्लाबासीलाई चाडबाडका बेला सहज आउजाउ गर्न दशैँअघि नै दिक्तेल–घुर्मी–खुर्काेट–काठमाडौँ सडक मर्मत गरेर सुचारु गर्न सरकारसँग माग गरे पनि जवाफ नआएको बताए । सांसद राईले सर्वपक्षीय, सर्वदलीय प्रतिनिधित्वमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गर्दै तत्काल मर्मत गरेर सडक सुचारु गर्न गृहमन्त्रालयलाई पत्राचार गरिएको बताए ।
एकतर्फी भाडा २५ सय
काठमाडौँ आउजाउ गर्न एकतर्फी नयाँ भाडातर पनि जिल्ला प्रशासन कार्यालयले कायम गरेको छ । भर्खरै सम्पन्न राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, प्रहरी, यातायात व्यवसायी र मजदुर प्रतिनिधित्वको सर्वदलीय, सर्वपक्षीय बैठकले प्रतिव्यक्ति २ हजार ५ सय नयाँ भाडा तोकेको हो ।
खोटाङ यातायात प्रालिका बुकिङ ईन्चार्ज अमिर अधिकारीले नयाँ भाडा अनुसार यात्रुहरु आउजाउ गर्न थालेको बताए ।