गाईघाट–लिमचुङबुङ सडक सुचारु

१ महिना अघि

२0८१ आश्विन १७ बिहीबार
गाईघाट–लिमचुङबुङ सडक सुचारु

उदयपुर, असोज १७

अविरल वर्षाले दर्जनौ ठाउँमा पहिरोले पुर्नुका साथै भत्केर अवरुद्ध पहाडी सडकहरु सुचारु हुन थालेका छन् । असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले ध्वस्त पारेपछि यातायात चल्न छाडेका सडकहरु रातारात मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । 


जिल्लाको सबभन्दा बिकट लिमचुङबुङ गाउँपालिकाका भित्री सडकहरु खुल्न बाँकी रहे पनि मुख्य सडक भने दुःखसुख सुचारु भएको छ । गाईघाटदेखि मुर्कुची–पुँवारे–माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका केन्द्र बाराहा जोडिएको सडक विहीबारदेखि सुचारु भएको अध्यक्ष मेजर राईले बताए । उनका अनुसार सो सडक वर्षाले दर्जनौँ ठाउँमा भत्काउनुका साथै पहिरोले पुरेर सातादिनयता यातायात आवागमन अवरुद्ध थियो । 


अध्यक्ष राईले वर्षाले भत्काएर अवरुद्ध सडक ५ दिन लामो मर्मतपछि सुचारु भएको बताएका छन् । हालका लागि ठूला बसहरु नचले पनि बोलेरो, सुमो र मोटरसाईकलहरु सहजताका साथ चल्ने गरी सडक मर्मत गरिएको अध्यक्ष राईले बताए । 


प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार लगातार ४–५ दिनको मर्मतपछि बल्ल सडक सुचारु भएको हो । दसैँ, तिहार, छठ, नेपाल संवत, ल्होसार र उधौलीजस्ता चाडपर्व नजिकिएकै बेला अविरल वर्षाले ध्वस्त पारेको सडक रातारात मर्मत गरेर सुचारु गरिएको उनले बताए । हाकिम गुरुङका अनुसार गाउँपालिकाको विपत व्यवस्थापन कोष शीर्षकको १९ लाख रकम सडक मर्मतमा खर्च भएको छ । सडक सुचारु गराउन गउाँपालिकाको स्काभेटर, ट्याक्टर र प्राविधिक जनशक्ति रातदिन नभनी परिचालन गरिएको थियो ।  


यसपटकको सडक मर्मत कार्यमा रौतामाई गाउँपालिकाले पनि केही सहयोग गरेको छ । मुर्कुची–लिमचुङबुङ सडकको धेरैजसो भूभाग रौतामाई गाउँपालिकामा पर्ने भए पनि यसअघि आनाकानी गर्दै आएकोमा यस पटक भने साझेदारी गरेको हाकिम गुरुङले बताए । 


र सो सडक वर्षायाममा पटकपटक अवरुद्ध हुँदै आएको हो । कच्ची र साँघुरो भएका कारण सामान्य वर्षामा पनि हिलाम्य हुनुका साथै पहिरो खसेर ठूलठूला ढुङ्गा तेर्सिने हुँदा सडकको हालत १२ काल खराव हुने गरेको छ । हरेक हिउदयाममा मर्मत गर्ने गरे पनि राज्यको लगानी ‘बालुवामा हालेको पानी’सरह हुने गरे्को छ । 


हिउदमा ठूला बसहरु सञ्चालन हुने सो सडकमा वर्षायाम भरी पटकपटक बिग्रने हुँदा साना सवारी साधन मात्र सञ्चालन हुने गरे्को छ । पानी पर्यो कि बिग्रने सो सडकमा बोलेरो, सुमो र मोटरर्साइकल पनि कहिलेकाही बीच बाटोमै रोकिने गरेकाले मर्मत गर्दै हिड्नुपर्ने बाध्यता रहेको चालकहरु बताउँछन् । 


रौतामाई ७ स्थित मुर्कुचीदेखि लिमचुङबुङ गाउँपालिकाका केन्द्र बाराहा र अन्य सबै वडालाई जोड्ने ४५ किलोमिटर सडकको झण्डै ७० प्रतिशत लम्बाई भने रौतामाई गाउँपालिकाको भूभागमा पर्छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईटदेखि मुर्कुचीसम्म त्रियुगा नगरपालिकाको भूगोलबाहेक मुर्कुचीदेखि पुँवारे, डिल्लीबर, सिन्कौले, रमिते हुँदै माझखर्कसम्मको ३६ किलोमिटर लम्बाई भूभाग रौतामाई गाउँपालिकामा पर्छ । 


माझखर्क बजारको आधा भूभाग लिमचुङबुङ ५ जाँतेमा र माझखर्क–दोबाटे–नागी, सिरुवानी–बाजागाउदेखि बाराहासम्मको बाँकी ९ किलोमिटर सडक लिमचुङबुङ ३ को बाराहामा समेटिएको छ । यसरी अधिकतर भूभाग रौतामाई गाउँपालिकाभित्र पर्ने भएकाले निर्माण र मर्मत कार्यमा आपसी समन्वय हुन नसकेर पनि उक्त सडक स्तरोन्नतिमा पछि पर्दै आएको हो ।