१ महिना अघि
२0८१ आश्विन १४ सोमबारउदयपुर, असोज १४
खोटाङको साकेला गाउँपालिका ५ स्थित सरस्वती माध्यमिक विद्यालयलाई ब्रिटिश गोर्खा वेलफेयर (जिडब्लुटी)ले भवन बनाईदिने भएको छ । वेलफेयरले जिल्लाका विभिन्न १० स्थानीयतहमध्ये छनौटमा परेको साकेला गाउँपालिकामा १२ कोठे पक्की भवन निर्माण गरिदिन लागेको हो ।
भवन बनाउने विषयमा सोमबार आयोजित एक कार्यक्रममा दोहोरो सम्झौता भएको छ । वेलफेयरले भवन निर्माणका लागि २ करोड ८५ लाख ५८ हजार १ सय ३३ रुपैंया खर्च गर्ने सम्झौतामा उल्लेख छ । वेलफेयरले गर्ने सो सहयोगमा स्थानीय समुदायले २८ लाख १५ हजार ९ सय ७३ रुपैंयाबराबरको जनश्रमदान गर्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको प्रधानाध्यापक शीतल राईले बताईन् ।
प्रअ राईका अनुसार भवन निर्माण कार्य आगामी कात्तिक २५ गतेदेखि सुरु गरेर २०८२ असार १४ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । विद्यालयको पूर्वतर्फको पुरानो भवन र त्यसको अगाडिको २ कोठे भवन भत्काएर नयाँ भवन बनाइने प्रअ राईले बताईन् । ६ कोठे अपाङ्गमैत्री नयाँ भवन निर्माणसँगै पुरानो भवनहरुको पनि मर्मत गर्ने कार्यक्रम रहेको प्रअ राईले जानकारी दिईन् ।
भवनसँगै वेलफेयरले ६० जोर डेस्क बेञ्च, फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ, सुद्ध पिउने पानीका लागि धारा, खानेपानी ट्याङ्कीलगायत संरचनाहरु प्नि निर्माण गरिदिने कार्यक्रमभ रहेको छ । जीडब्लुटी नेपाल र विद्यालयबीच भएको सम्झौतापत्रमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई, प्रधानाध्यापक शीतल राई र कार्यवाहक वडाअध्यक्ष निर्मला राईले हस्ताक्षर गरेका छन् ।
सम्झौता गर्ने कार्यक्रममा जिडब्लुपीका एरिया वेल्फेयर दिक्तेलका अफिसर भूमिराज निङलेखु लिम्बु र प्रोजेक्ट सेल प्रतिनिधि जीवन गुरुङको पनि सहभागिता थियो । व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा भएको भवन बनाउन जिडब्लुपीले सहयोग गर्ने भएपछि विद्यालय परिवार खुसी भएको छ ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यस्तो ठूलो भवन निर्माण गर्ने अनुदान सहयोग गर्ने कुराले सिंगो गाउँपालिका गौरवान्वित भएको बताए । पूर्व बेलायती सेनासमेत रहेका अध्यक्ष राईले २ सय वर्ष लामो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूलेसमेत रगत र पसिना बगाएको स्मरण गर्दै विद्यालय निर्माणका लागि अनुदान दिएकोमा धन्यबिाद दिए ।