चाडबाड लक्षित भत्ता वितरण सुरु

१ महिना अघि

२0८१ आश्विन १३ आईतवार
चाडबाड लक्षित भत्ता वितरण सुरु

उदयपुर, असोज १३

 

खोटाङको साकेला गाउँपालिकाले नजिकिएको दशैँ तिहार लक्षित गर्दै वडावडामा घुम्ती शिविर सञ्चालनमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक भत्ता वितरण गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर खटाएको हो ।

 

बैङ्कङ प्रणालीमार्फत वितरण गरिने भत्ता यसअघिदेखि नै गाउँपालिकाले वडावडामा शिविर सञ्चालन गरी वितरण गर्दै आएको छ । जस अनुसार यसवर्षको प्रथम त्रैमासिक भत्ता पनि वडामै पुगेर वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उनका  अनुसार लक्षित बर्गलाई गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म धाउन दुःख नहोस् भनेर घर पायक शिविर राखेर वितरण गर्न थालिएको हो । 

 

भत्ता वितरण गर्न आयोजित शिविरमा गाउँपालिका र बैङ्कका कर्मचारीको संयुक्त टोली खटाइएको छ । बृद्धवृद्धा, अशक्त र अपाङ्गता नागरिकलाई गाउँपालिका केन्द्रस्थित बैङ्क आउन शारिरीक कष्ट तथा समय र पैसा खर्च हुन नदिन वडामै शिविर राखेर भत्ता बाँड्ने योजना बनाएको अध्यक्ष राईले बताए । साकेलाले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सम्झौता गरे अनुसार नेपाल एसबिआई बैङ्कले आफ्ना कर्मचारी भत्ता वितरण गर्न परिचालन गरेको छ । 

 

जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक अशक्तहरूलाई सहज सेवा दिन शिविर राखिएको अध्यक्ष राईले बताए । उनले जनताको सेवामा कुनै कसर बाँकी नराख्ने आफ्नो धारणा रहेको पनि बताए । बृद्धबृद्धा र अशक्त अपाङ्गता भएकाहरूलाई बैङ्क र गाउँपालिकाका कर्मचारीको टोली वडावडामा खटाएर भत्ता वितरण गर्ने गरेको बताए । 

 

भत्ता वितरण गर्न आईतबारदेखि शिविर सञ्चालन गरिएको र पहिलो दिन रतन्छास्थित २ नं. वडा कार्यालयबाट भत्ता वितरण थालिएको छ । त्यहाँको शिविरबाट १ सय १७ जनालाई भत्ता बाँड्ने गरी १७ लाख ३६ हजार रकम पठाइएको बैङ्कका प्रबन्धक मेदानीप्रसाद रिजालले बताए । 

 

साकेलामा चालु वर्षको पहिलो त्रैमासिकका लागि १ हजार ३ सय ३३ जना लाभग्राहीले भत्ता प्राप्त गर्नेछन् । जसका लागि गाउँपालिकाले १ करोड ३४ लाख २० हजार ४ सय २५ रुपैंया निकासा गरेको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चामलिङ राईले बताएका छन् । उनका अनुसार भत्ता वितरणका लागि कर्मचारी टोली सातादिनसम्म परिचालन हुनेछ । 

 

दोस्रो दिन १४ गते ५ नम्बर वडा कार्यालय मात्तिमबिर्तामा शिविर राखिनेछ भने १५ गते ३ नम्बर वडा कार्यालय खिदिमा, १६ गते ४ नं. वडा मात्तिममा भत्ता वितरण गर्ने कार्यतालिका छ । त्यस्तै असोज १८ गते १ नम्बर वडा कार्यालय बाँझेच्यानडाँडा र २० गते १ कै चण्डेश्वरी आधारभूत विद्यालयमा वितरण गर्दै शिविर समाप्त हुनेछ । 

 

भत्ता लिन शिविरस्थल आउन नसक्ने सेवाग्राहीहरुले एसबिआई बैङ्का देशभर जुनसुकै शाखाबाट लिनसक्ने व्यवस्था मिलाइएको पनि प्रवध्क रिजालले बताएका छन् ।