विपतमा एकजुट हुन प्रचण्डको आव्हान 

१ महिना अघि

२0८१ आश्विन १३ आईतवार
विपतमा एकजुट हुन प्रचण्डको आव्हान 

उदयपुर, असोज १३

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही दिनयताको अविरल वर्षाले देशभर ठूलो जनधनको क्षति भएको भन्दै राहत र पुनस्र्थापनाका लागि सबै एकजुट हुन  आव्हान गरेका छन् । प्रचण्डले आईतबार विहान एक विज्ञपती प्रकाशित गर्दै पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको र ठूलो संख्यामा बेपत्ता र घाइते हुनुका साथै असीमित धनमालको क्षति भएको भन्दै उनले राहत र पुनस्र्थापनामा एकजुट हुन आव्हान गरेका हुन् । 


‘केहीदिनयताको दैवी विपतमा परी नागरिकहरुको अकल्पनीय रुपमा ज्यान गएको छ, हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारक्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु’ अध्यक्ष प्रचण्डको विज्ञप्तीमा उल्लेख छ ‘यो दुःखको घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

 

अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेहरुको उपचार रघरबारविहीनलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुने अध्यक्ष प्रचण्डको भनाई छ । ‘तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु’ प्रचण्डले भनेका छन् ‘भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनिकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु ।’

 

राजधानीजस्तो ठाउँमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देख्नुपरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गरेको बताए । अहिले पनि विभिन्न मुख्य लोकमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा रहेको ेभन्दै उनले यसले नजिकिएको चाडपर्व दशैं तिहार मान्न समस्या निम्तिने बताएका छन ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नजिकिएको चाडपर्व सहज तरिकाले मनाउन दिनका लागि बिग्रे भत्केका संरचना र अवरुद्ध भएका सडक पुलहरु युद्धस्तरमा पुनर्निर्माणका काम थालिहाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसो गर्न सके मात्र सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनमा आउन सक्ने भ्एकाले तत्काल पहल अघि बढाउन उनले सरकारसँग आग्रह गरेका छन् । 


अध्यक्ष प्रचण्डले माओबादी पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्तालाई पनि विपतमा परेकाहरुको उद्धार र पुनस्र्थापनाको काममा लागिरहन निर्देशन दिएका छन् । अहिलेसम्म उद्धारमा खटेका सेना, प्रहरी, सशस्त्र र पार्टी कार्यकर्ताहरुलाई धन्यवाद दिंदै प्रचण्डले बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायत काममा निरन्तर लाग्न पनि निर्देशन दिएका छन् ।