सलेश फुटबल प्रतियोगिताः तेस्रो दिन जनउत्थान विजयी

२ घण्टा अघि

२0८१ आश्विन ११ शुक्रबार
सलेश फुटबल प्रतियोगिताः तेस्रो दिन जनउत्थान विजयी

कटारी, असोज ११

३ दिनयता कटारीमा जारी ‘दोस्रो शलेस कप नकआउट फुटबल प्रतियोगिता ०८१’मा सिन्धुलीको नमूना जनउत्थान क्बलले विजयी यात्रा थालेको छ । शुक्रबार सम्पन्न तेस्रो दिनको खेलमा कटारीको साका क्बललाई पराजित गर्दै जनउत्थान विजयी भएको हो । 


स्वर्गीय पशुपति गिरीको स्मृतिमा भईरहेको प्रतियोगितामा जनउत्थानले कटारीको डकाहास्थित साका फुटबल क्लबलाई ३–० ले पराजित गर्दै विजयी यात्रा थालेको हो । कटारी ५ स्थित भोर्ले खेलमैदानमा जारी प्रतियोगिताको शुक्रबारको खेलमा म्यान अफ द म्याच पनि जनउत्थानकै सुदिप धामी घोषित भए । उनलाई कटारी ५ का वडाध्यक्ष मोहन तामाङले नगद पुरस्कार र ट्रफि प्रदान गरे ।
 

स्वर्गीय गिरीको स्मृतिमा उनको परिवारको सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले ट्रफिसहित नगद ७१ हजार १ रुपैँया पुरस्कार पाउनेछ । त्यस्तै उपविजेतालाई नगद ५१ हजार १ रुपैँयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवका अध्यक्ष देवान थापाले बताए । 


उदयपुर र सिन्धलीका गरी १६ खेल समूहले भाग लिईरहेको प्रतियोगिता आगामी २३ गतेसम्म सञ्चालन हुने खेल संयोजक अम्बर तामाङले बताए । उनका अनुसार प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, उदीयमान, सर्वाधिक गोलकर्ता, डिफेन्डर र मिडफिल्डलाई पनि नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । 


भोलि शनिबारको खेलमा बीबीसी भुसुने कटारी र कटारीकै जहडी फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ । यसअघिको खेलमा उद्घाटनका दिन सिन्धुलीको मित्रता क्लब विजयी भएको छ भने दोस्रो दिन विहीबारको खेलमा उदयपुरको नेपालटारस्थित आदर्श क्बल विजयी भएको छ ।


प्रतियोगितामा आयोजक शलेस, जनउत्थान, साका, आदर्श नेपालटार र मित्रताबाहेक कटारीको च्याँगा फुटबल क्लब, सिन्धुलीकै वागमती प्रदेश प्रहरी तालिम केन्द्र, कटारीकै बेलसोत आर्मी क्याम्प, डाईमण्ड फुटबल क्लव सिन्धुली, जुनेली युवा क्लव सिन्धुली, मुनाल फुटबल क्लव उदयपुर, कटारीको त्रिवेणी स्पोर्टस क्लव खोक्सा, बिबिसी उदयपुर जहडी फुटबल क्लव कटारी, दुधौली स्पोर्टस क्लव सिन्धुली र खैरेनी फुटबल क्लव उदयपुरको सहभागिता रहेको आयोजकले जनाएको छ । 
क्याप्सनः जनउत्थान र साकाका खेलाडी खेल सुरु हुनुअघि । तस्विरः महेश्वर