आज त्रियुगा, बेलका र चौदण्डीमा जितीया बिदा

१ महिना अघि

२0८१ आश्विन ९ बुधबार
आज त्रियुगा, बेलका र चौदण्डीमा जितीया बिदा

उदयपुर, असोज ९

आज परेको थारु समुदायको महान् चाड जितीया ०८१ का दिन यहाँका ३ स्थानीयतहले सार्वजनिक विदा दिएका छन् । सदरमुकामको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकाले बुधबार परेको जितीयामा सार्वजनिक विदा दिएका हुन् । 


तीनवटै नगरपालिकाले मङगलबार नै फरक फरक सूचना जारी गरी जितीयाको सार्वजनिक विदा दिइएका छन् । त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले जारी गरेको सूचनामा बुधबारका दिन नगरपालिकाका सबै कार्यालयहरु बन्द रहने गरी सार्वजनिक विदा दिइएको उल्लेख छ । 


‘संवत ०८१ असोज ९ गते बुधबारका दिन थारु समुदायको महान् चाडपर्व जितीया पर्वको अवसरमा नगरकार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, सम्पूर्ण शिक्षमण सँस्थाहरु’ सिग्देलले जारी गरेको सूचनामा उल्लेख छ ‘स्वास्थ्य सँस्था (आकस्मिक बाहेक) सार्वजनिक विदा दिने ०८१ असोज ८ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ 


बेलका नगरप्रमुख अशोक कार्कीले पनि सोमबारै एक सूचना जारी गर्दै नेपालीहरुको महान् चाड जितीयाको अवसरमा सार्वजनिक विदा दिइएको जनाएका छन् । मेयर कार्कीद्वारा जारी सूचनामा जितीयाको अवसरमा नगरपालिका, मातहतका सबै वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु, स्वास्थ्य सँस्थाहरु, वित्तीय संस्थाहरुलगायत सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख छ ।  


त्यसैगरी चौदण्डीगढी नगरपालिकाले पनि जितीयाको अवसर पारेर दिएको विदा सूचनामा जितीया पर्वको विदा दिइएको जनाएको छ । नगरप्रमुख कालुमान लामाले जारी गरेको सूचनामा थारु समुदायको महान चाड जितीयाको अवसरमा सम्पूर्ण थारु तथा गैरथारु नगरबासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सार्वजनिक विदा दिइएको उल्लेख छ । 


नेपालको संविधान २०७२ अनुसार देश संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सङ्घ, प्रदेश र स्थानीयतह गरी ३ तहको सरकार हुने व्यवस्था छ । संविधानले व्यवस्था गरे अनुसार स्थानीय सरकार सञ्चालन ऐन्मा स्थानीय चाडपर्व, भाषाभाषी, सँस्कार सँस्कृतिको संरक्षण, संबद्र्धन र विकास गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ ।