नारद मणि गोल्ड कपको तयारी तिब्र

२ महिना अघि

२0८१ आश्विन ८ मंगलवार
नारद मणि गोल्ड कपको तयारी तिब्र

उदयपुर, असोज ८

प्रजातान्त्रिक योद्धा स्वर्गी नारदमुनि थुलुङ राईको स्मृतिमा वर्षेनी आयोजना हुँदै आएको ‘नारद मुनि थुलुङ स्मृति गोल्डकप पुफटबल प्रतियोगिता’को तयारी तिब्र भईरहेको छ । उदयपुरको पहिलो र सर्वाधिक धनराशी पुरस्कारको प्रतियोगिता आउँदो १७ गतेदेखि सुरु गर्ने गरी तिब्ररुपमा तयारी भईरहेको बसाहा क्लबले जनाएको छ । 

 

उदयपुुरको चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङगशालामा हुने प्रतियोगिता १७ देखि असोज २४ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष गौतम राईले बताएका छन् । त्यसका लागि सबैखाले तयारी भईरहेको उनले बताए । प्रतियोगितामा गतवर्षको विजेता बागमति युवा क्लब सर्लाही र उपविजेता न्यु त्रियुगा स्पोर्ट क्लब सप्तरीसहित ८ वटा खेल समूहले भाग लिने पनि उनले बताए । 


गतवर्षको विजेता र उपविजेताबाहेक झापा ११, विराट मेघा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ फुटबल क्लब काठमाडौँ, सहलेश क्लब सिराहा र सङकटा फुटबल क्लब काठमाडौँले प्रतियोगितामा सहभागता जनाउनेछन् । विजेता समूहले ट्रफिसहित नगद ५ लाख, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई नगद २ लाख २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याच घोषित गरी नगद ५ हजार र ट्रफि प्रदान गरिने पनि आयोजकले जनाएको छ । 

 

क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार शेखर राईले प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपरलगायत ७ वटा विभिन्न विधागत पुरस्कार दिइने र प्रत्येकलाई नगद ५ हजार र ट्रफी प्रदान गरिनेछ । त्यसैगरी उदीयमान खेलाडीको उपाधि र पुरस्कार पनि प्रदान गर्ने कार्यक्रम रहेको सल्लाहकार राईले बताए । 


स्वर्गीय नारद मुनि राई २००७ सालका प्रजातान्त्रिक आन्दोलनका क्रान्ति योद्धा हुन् । उनले ०४२÷४३ सालताका बसाहाको घना जङगल फाँडेर बस्ती बसाउन अगुवाई गरेका थिए । उनको सम्मानमा स्थानीयले बसाहा क्लबको माध्यमबाट विभिन्न गतिबिधि गर्दै आएका छन् । 


क्याम्पस, स्कुल, खेल मैदान सबैमा नारद मुनिको नाम जोड्ने गरिएको छ । नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय, नारद स्मृति रङगशाला उनकै नाममा स्थापना गरेर सञ्चालन हुँदै आएको छ् भने थुलुङको स्मृतीमा क्लबले जिल्लामै पहिलो र ठूलो धनराशी पुरस्कारको गोल्डकप प्रतियोगिता सञ्चालन गर्दै आएको सल्लाहकार राईले बताए ।