‘मेयर कप साँस्कृतिक सिल्ड’को उपाधि लाली गुराँसले चुम्यो

४ दिन अघि

२0८१ आश्विन ६ आईतवार
‘मेयर कप साँस्कृतिक सिल्ड’को उपाधि लाली गुराँसले चुम्यो

उदयपुर, असोज ६


त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘तेसो त्रियुगा अन्तर विद्यालयस्तरीय मेयर रनिङ शिल्ड साँस्कृतिक नृत्य प्रतियोगिता ०८१’को उपाधि लाली गुराँस सेकेण्डरी स्कुलले चुमेको छ । त्रियुगा नमूना मावि गाईघाटको प्राङगणमा सम्पन्न प्रतियोगिताको फाईनल स्पर्धामा लाली गुराँस उपाधि लिन सफल भएको हो । 


३२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा किराती समुदायको परम्परागत साकेला नृत्य र गीतलाई आकर्षक ढंगले प्रस्तुत गदै लाली गुराँसको टोली उपाधि हात पार्न सफल भ्एको हो । परम्परागत र लोपोन्मुख नृत्य सँगीनीको प्रस्तुति दिएको त्रियुगा नगरपालिका ३ मोतिगडास्थित इभरग्रीन सेकेण्डरी स्कुल दोस्रो भएको छ । 


त्यसैगरी झाँगड नृत्य प्रस्तुत गर्ने जनता मावि देउरी तेस्रो हुँदा अन्नपूर्ण सेकेण्डरी मावि बगाहा र त्रियुगा नमूना मावि गाईघाटले सान्त्वना चौथो र पाँचौँ स्थान पाएका छन् । 


नगर शिक्षा शाखा अधिकृत शिवकुमारी राउतका अनुसार नगरपालिकाका १६ वडाका सामुदायिक र सँस्थागत गरी ३२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजयी टोलीलाई रनिङ सिल्डसँगै १५ हजार नगद, उपविजेतालाई १० हजार र तेस्रो हुनेले ७ हजार नगद तथा प्रमाणपत्र पाएको छ । सान्त्वना चौथो र पाँचौँलाई क्रमशः ५ हजार र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको अधिकृत राउतले बताईन् ।


शुक्रबार नै प्रतियोगिता सकिए पनि समयाभावले नतिजा प्रकाशन गर्न ढिला भएकाले आईतबार विहान मात्र प्रकाशन गरी पुरस्कार वितरण गरियो । नगरप्रमुख बसन्त बस्नेतले विजेताहरुलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । 


‘कला सँस्कृतिको सम्मानः त्रियुगाको अभियान’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता विद्यार्थीलाई घोकन्ते विद्याभन्दा अतिक्ति क्रियाकलापका गतिबिधि गराउँदै रचनात्मक सिप र कलाको विकास गराउन आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 


शिक्षामा गुणस्तर कायम गर्दै समृद्ध र सभ्य नगरपालिका बनाउने उदेश्यले यस्ता गतिबिधिहरु ग्र्न थालेको मेयर बस्नेतले बताए । मेयर बस्नेतले त्रियुगामा चालु शैक्षिक वर्षदेखि स्थानीय पाठ्यक्रम (त्रियुगा ज्ञानमाला) निर्माण गरी लागू गरेको बताउँदै कक्षा ५ सम्म  पठनपाठन भईरहेको स्थानीय पाठ्यपुस्तकमा धेरै स्थानीय कुराहरु समेटिएको बताए । 


उनले आवश्यक्ता अनुसार थप पाठ्यक्रम थपेर परिमार्जनसहित ८ कक्षासम्म पठनपाठन गर्नेगरी पाठ्यपुस्तकको स्तरोन्नति गर्ने पनि बताए । स्थानीय पाठ्यक्रममा नगरका पूर्वाधार, खानेपानी, वन, पर्यटन, कला, सँस्कार र संस्कृति, रितीरिवाज र पहिचानका कुराहरु समेटेर बनाइएको छ । 


उपमेयर महेश्वरी राईले बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी चौतर्फी ज्ञानको विकास गराउन साँस्कृतिक कार्यक्रमले मद्धत गर्ने भएकाले यस्तो बाहिरी ज्ञानसँग सम्बन्धित प्रतियोगिता आयोजना गरेको उपमेयर राईले बताएकी छिन् ।