आमा छोरा हत्या आरोपमा यसरी पक्राउ परे मगर

५ दिन अघि

२0८१ आश्विन ५ शनिबार
आमा छोरा हत्या आरोपमा यसरी पक्राउ परे मगर

उदयपुर, असोज ५ 

 

समयः ०८१ भदौ २० गते विहान ८ः२० बजे 

स्थानः कटारी नगरपालिका १० सोरुङ्गछविसे वडा कार्यालय प्राङगण 

घट्नाः ३७ वर्षीया निर्मला थापा र ६ वर्षीय उनकै छोरा आरुसको सुतेकै ठाउँमा हत्या । 

अवस्था  दुवैजनाको शव रक्तमुछेल 

हत्या आरोपीः सोही ठाउँका यातायात व्यवसायी ३२ वर्षीय ताराबहादुर मगर । 
 

माथि उल्लेखित विवरण अनुसार घट्नामा आरोपी मगरले निर्मला र आरुसको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले १५ दिन लामो अनुसन्धानपछि हत्या आरोपमा मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 


सोरुङछविसे वडा कार्यालय नजिकै टहरा बनाई किराना र सामान्य होटल व्यवसाय गर्दै आएकी निर्मला र छोार आरुसको हत्या प्रेम सम्बन्धका कारण भएको निश्कर्ष प्रहरीको छ । घट्नास्थलभन्दा ३ सय मिटर टाढा सोरुङ खोला पारि घर भएका मगरले मध्येराति आएर आमा छोराको हत्या गरेको प्रहरी दावी छ । 


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी राजन चापागाई नेतृत्वको टोलीले घट्नास्थलमै पुगेर २ साता लामो सुक्ष्म र गहिरो अनुसन्धानपछि मगरलाई पक्राउ गरेको हो । अनुसन्धानले पत्ता लगाएको तथ्य अनुसार मगर र निर्मलाबीच प्रेम सम्बन्ध रहेको र शारीरिक सम्बन्ध रहदै आएको थियो । सो रात पनि सबै सुतिसकेपछि मगर आउँदा निर्मलाले आफुहरुको नाजायज सम्बन्धबारे समाजले शंका गरिसकेको भन्दै बिहे गर्न दिएको दबावबाट उब्जेको बिबाद अन्ततः आमा छोराको ज्यान लिने हदसम्म पुगेको हो । 


बिबादकै बीच मगरले निर्मलामाथि खुकुरी प्रहार गरी घाईते बनाएकै बेला निदाईरहेको नाबालक छोरा उठेर कराउन थालेपछि उनको पनि घाँटी छिनाल्ने गरी खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी निश्कर्ष छ । गाउँमा ट्याक्टर र बोलेरो यातायात व्यवसाय गर्दै आएका मगर निर्मलाको होटलमा खाजा र मदिरा खाने क्रममा उनीहरुबीच सुरु भएको प्रेम झाँगिदै गएर यौन सम्पर्कसम्म पुगेर दुईजनाको हत्यासम्मको वियोगान्तक टुंगिएको कुरा यो घट्नाले खुलेको छ । 


जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार मगर र मृतक महिलाबीच पुरानै सम्वन्ध रहेको र घट्नाको राति अभियुक्तले यौन सम्वन्ध राख्न खोज्दा आफुलाई स्वीकार्नुपर्ने अन्यथा सम्वन्ध राख्न नदिने अडान लिएपछि निर्ममतापूर्वक खुकुरी प्रहार गरेर हत्या गरेको अनुसन्धानले देखाएको छ । 


घटनापछि अभियुक्तले खुकुरी र रगत लागेको लुगा नजिकैको खोलामा धोएर सुकाएको, मृतकको मोवाईल खोलामा फालिदिएको एसपी योगीले बताए । आफैले घट्ना घटाए पनि मगर विहान घटनास्थलदेखि शव पोष्टमार्टम गर्न आउँदा कटारी अस्पत्ताल हुँदै मृतकको दाहसंस्कारमा समेत उपस्थित भएकाले उनीमाथि शंका भए पनि किटान गरिहाल्न  अप्ठेरो भएर समय लागेको एसपी योगीले बताए । 


‘त्यसैले ठोस प्रमाण जुटाएर मात्र पक्राउ गर्न मुनासिव लागेर केही समय ढिला भएको हो’ पत्रकार सम्मेलनमा एसपी योगीले भने ‘सबै प्रमाण जुटाएपछि मात्र उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोप स्वीकारेपछि मुद्धा चलायौँ ।’ 


वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार निर्मलाका श्रीमान अशोक तीनवर्षअघि नै दोस्रो विहे गरेर भारतमा बस्दै आएका छन् । अशोकले निर्मलालाई पनि अर्को श्रीमानपटिको एक छोरासहित भित्र्याएको र अहिले १८ वर्ष पुगेका ती छोरा मामाघर बस्दै आएका छन् । निर्मलाबाट एक छोरा आरुस जन्मेको ३ वर्षमै दोस्रो विहे गरेर उनी भारत बस्न गएको वडाध्यक्ष खड्काले बताएका छन् ।