‘मेयर कप रनिङ सिल्ड साँस्कृतिक नृत्य प्रतियोगिता’ कसले जित्ला ?

६ दिन अघि

२0८१ आश्विन ४ शुक्रबार
‘मेयर कप रनिङ सिल्ड साँस्कृतिक नृत्य प्रतियोगिता’ कसले जित्ला ?

उदयपुर, असोज ४

गाईघाटमा आयोजित ‘तेसो त्रियुगा अन्तर विद्यालयस्तरीय मेयर रनिङ शिल्ड साँस्कृतिक नृत्य प्रतियोगिताको स्पर्धा शुक्रबार सकिएको छ । संविधान दिवसको अवसरमा त्रियुगा नगरपालिकाद्वाारा आयोजित प्रतियोगिताको स्पर्धा सकिए पनि नतिजा भने आउँन बाँकी छ । 

 

त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटमा सम्पन्न प्रतियोगितामा वडाबाट छनौट भएर आएका विभिन्न ३१ वटा विद्यालयको सहभागिता रहेको नगर शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताईन् । उनका अनुसार प्रतियोगितामा नगरभरीका सामुदायिक तथा संस्थागत गरी ३२ विद्यालयका छात्रछात्राको सहभागिता थियो । 

 

‘कला संस्कृतिको सम्मानः त्रियुगाको अभियान’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको शुक्रबार विहान नगरप्रमुख वसन्त बस्नेतले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा मेयर बस्नेतले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा विभिन्न गतिबिधि गराउँदै शैक्षिक क्रियाकलापको माध्यमबाट रचनात्मक काममा लगाउन सके त्यसको परिणाम राम्रो हुने बताए । 

 

शिक्षा क्षेत्रको विकासका लागि त्रियुगा नगरले आवश्यक्ता अनुसार कार्यविधि बनाएर अघि बढिरहेको जानकारी दिदै मेयर बस्नेतले भने ‘नगरपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि आवश्यक कानुनहरु शिक्षा नियमावली र कार्यविधि बनाएर अघि बढेको छ । त्यसैले त्रियुगाको शैक्षिक गुणस्तर बृद्धि हुनेमा हामी ढुक्क छौँ ।’ 

 

उनले स्थानीय आवश्यक्ताको आधारमा पाठ्यपुस्तक निर्माण गरेर अघि बढिरहेको बताउँदै पूर्वाधार, खानेपानी, वन, पर्यटन, कला, सँस्कार र संस्कृतिलगायत विषय समेटेर स्थानीय पाठ्यक्रम तय गरी लागू गरिएको जानकारी दिए । मेयर बस्नेतले नगरपालिकाले लागू गरेको कक्षा ५ सम्मको स्थानीय पाठ्यपुस्तकमा धेरै स्थानीय कुराहरु समेटिएको बताए । हाल कक्षा ५ सम्मको स्थानीय पाठ्यपुस्तकलाई ८ सम्म स्तरोन्नति गरेर लागू गर्ने योजना पनि मेयर बस्नेतले सुनाए । 

 

कार्यक्रममा उपमेयर महेश्वरी राईले बालबालिकाभित्र लुकेर रहेको प्रतिभा, कला र क्षेमताको प्रष्फुटन गराउँदै समाजसामु पस्कने कार्यमा त्रियुगा नगरपालिका लागिरहेको बताईन् । उनले सँस्कार सँस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने कुरामा त्रियुगा नगर जनप्रतिनिधि अग्रसर हुदै आएको बताईन् । 

 

शिक्षा प्रमुख राउतका अनुसार प्रतिस्पर्धीहरुले गरेको प्रस्तुतिको नतिजा शनिबार सार्वजनिक गरिनेछ । शुक्रबार समयाभावले नतिजा प्रकाशन गर्न नसकिएकाले शनिबार विहान मात्र परिणाम सार्वजनिक गर्ने र पुरस्कार वितरणको काम गरिने उनको भनाई छ । 

 

‘आज अलि भ्याइएन, त्यसैले रिजल्ट आउन भोलिसम्म पर्खनुपर्ने भयो’ शाखा प्रमुख राउतले भनिन् ‘निर्णायक मण्डलले खामबन्दी प्रतिस्पर्धीको अंक नगरपालिकालाई बुझाईसकेका छन्, अव भोलि मात्र नतिजा सार्वजनिक गरेर पुरस्कार वितरणको काम हुन्छ ।’