सोरुङ हत्या प्रकरणको पर्दाफास

६ दिन अघि

२0८१ आश्विन ४ शुक्रबार
सोरुङ हत्या प्रकरणको पर्दाफास

उदयपुर, असोज ४

दुईसाताअघि घरभित्रै मृत भेटिएका आमा छोराको हत्यारा पत्ता लागेको छ । १५ दिन लामो अनवरत अनुसन्धान प्रयासपछि हत्यारा पत्ता लागेको प्रहरीले जनाएको छ । 


जिल्लाको कटारी नगरपालिका १० सोरुङछविसेस्थित वडा कार्यालयछेउकै एक पसलमा गत भदौ २० गते विहान आमा छोरा मृत भेटिएका थिए । ६ वर्षीय नाबालक छोरा आरुससँगै ३७ वर्षीया आमा निर्मला रक्तमुछेल अवस्थामा भेटिएकी थिईन् । उनीहरु दुवैको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खवर गरेका थिए । 


जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी राजन चापागाई कमाण्डको दर्जन बढी प्रहरी संलग्न टोली घट्नाको भोलिपल्टदेखि नै घट्नास्थल पुगेर अनुसन्धानमा व्यस्त थियो । टोलीले लामो र सुक्ष्म अनुसन्धानपछि हत्यारा पत्ता लगाएको जनाएको छ । डिएसपी चापागाईको टोली अनुसन्धान सफल भएपछि हिजो बेलुका गाईघाट फर्केको छ । प्रहरीले हत्यारा सफलतापूर्वक पत्ता लगाएको र संभवत शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । 


‘निकै मेहनेत र गहिरो अनुसन्धानपछि हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको छ’ वडाध्यक्ष खड्काले भने ‘संभवत शुक्रबार दिउसो या शनिबार विहानसम्ममा पत्रकार सम्मेलन गरी अपराधी सार्वजनिक गर्लान् ।’ वडाध्यक्ष खड्काले पक्राउ पर्ने व्यक्ति को हो भन्ने कुरा भने खोल्न चाहेनन् । हत्यारा पत्ता लागिसकेको तर, व्यक्तिको नाम भन्न नमिल्ने भन्दै वडाध्यक्ष खड्काले सो कुराको जानकारी प्रहरीले सार्वजनिक गर्ने बताए । 


घट्नास्थलबाट सदरमुकाम आईपुगेका डिएसपी चापागाईले हत्यारा पत्ता लागिसकेको बताउँदै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए । ‘हामीले अपराधी पत्ता लगाईसकेका छौँ, मुद्धा पनि दर्ता भईसक्यो’ चापागाईले भने ‘शुक्रबार अदालतबाट म्याद थप गरेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछौँ ।’