दिक्तेल रुपमाकोट मझुवागढीले स्थानीय पाठ्यक्रम थप्यो 

१ हप्ता अघि

२0८१ आश्विन १ मंगलवार
दिक्तेल रुपमाकोट मझुवागढीले स्थानीय पाठ्यक्रम थप्यो 

उदयपुर, असोज १

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय पाठ्यक्रम थपेको छ । सदरमुकामसमेत रहेको दिरु मझुवागढीले यसअघि लागू गरेको पाठ्यक्रमलाई परिमार्जन गर्दै थप ८ वटा पाठ्यक्रम तयार गरेर लागू गरेको हो ।


नगरपालिकाले २०७८ सालमा प्रकाशन गरेर ‘दिरुम ज्ञानमाला’ नामको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो । त्यसलाई परिमार्जन गर्दै हाल वडास्तरबाटै पाठ््यक्रम बनाएर थप्ने तयारी गरेको हो । 


नगर उपप्रमुख बिसन राईका अनुसार नगरपालिकास्तरीय पाठ्यक्रम लागू हुँदै आएकोमा अव वडास्तरीय छुट्टाछुट्टै विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम तयार गरिएको छ । यसअघि सञ्चालनमा ल्याइएको कक्षा १ देखि ५ सम्मको दिरुम ज्ञानमालाको साटे अव हरेक वडाको आफ्नै विशिष्टताको विषयवस्तु समेटेर फरक–फरक ८ वटा स्थानीय पाठ्यक्रम तयार पारिएको उपप्रमुख राईले बताए । 


दिरु मझुवागढीमा १५ वडा रहेका छन् । जसमध्ये १, २ र ६ नं. वडाका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वको गठित समितिले ‘रुपाकोट बैखरी’ नामको पाठ्यक्रम तयार गरेको छ । त्यस्तै, ३ र १३ नं. वडाका लागि बमबहादुर राई संयोजकत्वमा गठित समितिले ‘मुढे नुनथला’ पाठ्यक्रम तयार गर्दा ४ र ५ नं. वडाका लागि लक्ष्मीप्रसाद खनाल संयोजकत्वको टोलीले ‘हाम्रो मझुवा’ तयार गरेको छ ।


त्यसैगरी वडा नं. ७, ८ र ९ का लागि भवकृष्ण ढकालको संयोजकत्वमा गठन भएको पाठ्यक्रम परिमार्जन तथा निर्माण समितिले ‘हाम्रो साप्सुमाला’ तयार गरेको छ भने १० नं. का लागि प्रेमप्रसाद भट्टराई संयोजकत्वको समितिले ‘हाम्रो पाथेका’ निर्माण गरेको .छ । वडा नं. ११ का लागि प्रकाश राई संयोजकत्वको टोलीले ‘हाम्रो खार्मी’ नामको पाठ्यक्रम बनाईसकेको छ भने १२ नं. वडाका लागि प्रतिमान राईको संयोजकत्व टोलीले ‘जालपा चिनारी’ बनाएको छ । 


त्यसैगरी वडा नं. १४ र १५ का लागि गठित ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’ नामक अर्को पाठ्यक्रम तयार पारेको उपप्रमुख राईले बताए । नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाले स्थानीय परिवेश, विशिष्टता, भूगोल, इतिहास र सभ्यता फरक फरक भएकाले आआफ्नो आवश्यक्ता, संभावना, परिवेश र अवस्थितिका आधारमा फरकफरक पाठ्यक्रम तयार पारेर पठनपाठन गराउन लागेको बताए । फरकफरक वडाका लागि विज्ञसहितको फरकफरक समिति गठन गरेर अध्ययन र परिमार्जनसहित नयाँ पाठ्यक्रम बनाउन लगाइएको मेयर भट्टराईले बताए ।


समितिहरुले तयार पारेका स्थानीय पाठ्यक्रमलाई नगर शिक्षा समितिको बैठकबाट पारित गरी नगरकार्यपालिका बैठकमा पठाइएको थियो । भदौ २८ गतेको नगरकार्यपालिका बैठकले आवश्यक छलफल र बहस गरी पारित गरेपछि अव कार्यान्वयन गर्ने चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताए । उनका अनुसार आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरिसकेर अव स्थानीय पाठ्यक्रम कार्यान्वयनमा जान लागेको छ ।