प्रदेश सार्वजनिक लेखा समिति सभापति बन्दै किराती 

२ हप्ता अघि

२0८१ भाद्र २७ बिहीबार
प्रदेश सार्वजनिक लेखा समिति सभापति बन्दै किराती 

उदयपुर, भदौ २७

नेकपा (माओबादी केन्द्र)का नेता राजन किराती (बासु) प्रदेशसभा संसदीय समितिको सभापति चयन हुने पक्का भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ (क)बाट निर्वाचित सांसद किराती १ नं. प्रदेशसभाको सार्वजनिक लेखा समितिको सभापति चयन हुने निश्चित भएको हो । 

 

पार्टी १ नं. प्रदेश कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जसमेत रहेका किरातीले सार्वजनिक लेखा समिति सभापतिका लागि विहीबार उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै ७ वटै समितिका सभापतिमा मनोनयन परेको प्रदेश सचिवालयले जनाएको छ । ३ दलीय सहमति तथा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउने कानुनी आधार अनुसार माओबादीलाई सो समिति प्राप्त भएको हो । 

 

प्रदेशसभा सचिवालय सचिव गोपाल पराजुलीका अनुसार एमालेको भागमा परेको प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापाले मनोनयन गर्दा न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादवले सभापतिका लागि मनोनयन दर्ता गराएका छन् ।

 

कांग्रेसले पाएको ३ समिति सभापतिमा क्रमशः गयानन्द मण्डल सामाजिक विकास, खगेश्वरी पौडेल सुशासन तथा योजना र विनोद राइले अर्थ समितिको सभापति हुन  उम्मेदवारी दर्ता गराएका छन् ।

 

शुक्रबार २८ गते चुनाव तोकिए पनि सबैमा एकल उम्मेदवारी परेका कारण चुनाव नगरी किरातीलगायत ७ वटै समिति सभापति निर्विरोध निर्वाचित भएको घोषणा सभामुखले गर्नेछन् । चुनाव भएको झण्डै २ वर्षपछि प्रदेशसभाले संसदीय समितिहरु गठन गर्न लागेको हो । ०७९ मंसिर ४ गते चुनाव भएको १ वर्ष ९ महिनापछि प्रदेशसभा समितिहरुले  पूर्णता पाउन लागेका हुन् ।