बरुवा क्याम्पसप्रति नगरपालिकाको बक्र दृष्टि ? 

२ हप्ता अघि

२0८१ भाद्र २६ बुधबार
बरुवा क्याम्पसप्रति नगरपालिकाको बक्र दृष्टि ? 

उदयपुर, भदौ २६

त्रियुगा नगरपालिका १२ बसपार्क सामन्ने स्नातकतहसम्मको पठनपाठन हुँदै आएको बरुवा क्याम्पस सञ्चालित छ । नदी उकासको ३ बिगाहा ९ कठ्ठा जमिनमा स्थापित क्याम्पसले जमिनको सुरक्षा गर्न ४ किल्ला प्रमाणित गर्न वडा कार्यालयमा ६ महिनादेखि धाउँदै आएको छ । 


तर, मुश्किलले ५ सय मिटर पूर्वमा १२ नं. वडा कार्यालयले क्याम्पसको कुरा सुनेको छैन । सार्वजनिक संस्थाको जमिन सुरक्षा गर्ने उदेश्यले ६ महिनाअघि निवेदन दिएर पटक पटक धाउँदा पनि वडाले ४ किल्ला प्रमाणित नगरिदिएको गुनासो क्याम्पसले गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बलदेव चौधरी स्वयं यसअघिका त्रियुगा नगरप्रमुख पनि हुन् । उनी आफै अध्यक्ष रहेको क्याम्पसको जमिनको ४ किल्ला प्रमाणित गरिदिन वडा कार्यालय किन आनाकानी गरिरहेको छ त्यो भने पत्ता लाग्न सकेको छैन । 


अध्यक्ष चौधरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर असहमति दर्ज गरेका छन् । चौधरीले जारी गरेको विज्ञप्तीमा जमिनको ४ किल्ला प्रमाणित नगरेकोप्रति आपति पनि जनाएका छन् । ‘बरुवा क्याम्पसको नाममा जग्गा कायम गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्री परिषदमा लैजानका लागि त्रियुगा नगरपालिका वडा नं. १२ को कार्यालयलाई ४ किल्ला प्रमाणित गर्न दिइएको निवेदन आजभोलि भन्दाभन्दै ६ महिना वितिसक्दा पनि प्रमाणित हुन नसकेकोमा दुःख लागेको छ’ उनको विज्ञप्तीमा उल्लेख छ । 

 

क्याम्पसले ३ विगहा ९ कठ्ठा क्षेत्रफल जमिनभित्र पक्की (आरसिसी) ३ वटा र कच्ची २ गरी ५ वटा भवन बनाएर पठनपाठन गराउँदै आएको स्मरण पनि विज्ञप्तीमा गराइएको छ । त्रियुगा नगरपालिका १२ स्थित अव्यवस्थित बसोबास आयोगद्वारा नापजाँच गरी कित्ता नम्बर १००२ कायम भई आम्दानी रसिद नगरपालिको बाँधिसकेको उक्त जग्गाको दर्ता प्रक्रियासमेत नगरपालिकाले त्यही बेला अघि बढाईसकेको थियो । तर, अहिलेको नगर जनप्रतिनिधिले त्यसलाई निरन्तरता नदिदा क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई हुन गएको अध्यक्ष चौधरीको भनाई छ । 


जमिन नाममा नहुँदा लालपुर्जा लिन ढिलाई भएकाले क्याम्पसले पाउनुपर्ने विश्वविद्यालय अनुदान  आयोगको करोडौ बजेट सहयोग पनि पाउन नसकेको उनले बताए । यसले क्याम्पसको भौतिक पूर्वाधार निर्माण गर्नबाट वञ्चित हुनुपरेको चौधरी बताउँछन् । स्थानीय सरकारको यस्तो रवैयाप्रति क्याम्पस परिवार दुःखी भएको विज्ञप्तीमा उल्लेख छ । अझै नगरपालिकाले क्याम्पस परिसरको जमिन आफुखुसी वितरण  गर्न थालेको भन्दै गम्भीर आपात्ती विज्ञप्तीमा जनाइएको छ ।

 
हाल ५ सय हाराहारी विद्यार्थी रहेको सो क्याम्पसलाई भविष्यमा विज्ञान संकाय रु प्राविधिक धारतर्फ ईन्जिनियरिङ पढाई गर्ने लक्ष्यसमेत लिइएको छ । तर, आफ्नै नाममा जग्गा नहुँदा अनुदान तथा संकाय व्यवस्थापन गर्न समस्या भईरहेको छ । 


यता नगरपालिकाको नाली फुटेर फोहोर पानी क्याम्पस परिसरमा पस्न थालेकोमा पनि नगरपालिका बेखवर देखिएको छ । क्याम्पस पश्चिमतर्फको सडक नाली गत वर्षदेखि फुटेर त्रियुगा नदीमा पस्नुपर्ने ढल क्याम्पस परिवरमा पस्दा विद्यार्थी र प्राध्यापकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको क्याम्पस प्रमुख भीमबहादुर खड्काले बताए । 


संस्थापक क्याम्पस प्रमुख तथा बालमन्दिर माविका प्रधानाध्यापक जंगबहादुर खड्काका अनुसार सो क्याम्पस ०६६ सालदेखि सुरु भएको हो । सुरुमा त्रियुगा नमूना मावि गाईघाटकै भवन भाडामा लिएर सञ्चालन गरिएको क्याम्पस ०७६ सालमा आफ्नै स्रोतसाधनबाट नयाँ भवन बनाएर स्थानान्तरण गरिएको हो । क्याम्पसजस्तो पवित्र शिक्षण संस्था भएकाले नदी उकासको जमिनमा भवन बनाएर पठनपाठन थालिएको पूर्व प्रमुख खड्काको भनाई छ । 


उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरर्गत शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ मा बरुवा क्याम्पसको जग्गा ३ विगहा ९ कठ्ठा रहेको र त्यसमा क्याम्पसको कच्ची र पक्की गरि ५ भवन रहेको उल्लेख छ । जमिनको सुरक्षा गर्न तारबार घेरा गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि जमिनको लालपुर्जा नभएकाले पाउन नसकेको पनि खड्काले बताएका छन् ।