माओबादी १ नं. प्रदेश परामर्श बैठकमा ७० सदस्यको सुझाव

२ हप्ता अघि

२0८१ भाद्र २४ सोमबार
माओबादी  १ नं. प्रदेश परामर्श बैठकमा ७० सदस्यको सुझाव

उदयपुर, भदौ २४

 नेकपा (माओवादी केन्द्र)को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकिएको छ । उदयपुरको बेलका नगरपालिकास्थित बेलका रिभर बिचमा आईतबार सुरु भई दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका थिए । 

 

सुझाउने  नेताहरुले पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने कुरामा जोड दिएको पार्टी सुत्रले जनाएको छ ।

 

उनीहरुले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा लाग्दै समाजवादमा पुग्ने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्नेमा पनि ज‍ड दिएको बताईएको छ । 


बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अग्नि सापकोटा, महासचिव देव गुरुङसहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गरेका थिए ।  पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । 


पार्टीले अहिलेसम्म १ नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको केन्द्रीय सदस्य सुरेह राई (हिमाल)ले बताए । 

 

उनका अनुसार प्रदेश परामर्श बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने नीति अघि बढाइने छ ।