नगरपालिकाको सडक गाउँपालिकाद्वारा मर्मत 

२ हप्ता अघि

२0८१ भाद्र २४ सोमबार
नगरपालिकाको सडक गाउँपालिकाद्वारा मर्मत 

उदयपुर, भदौ २४

खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढीको सडक साकेला गाउँपालिकाले मर्मत गरिदिएको छ । वर्षाले भत्के बिग्रेर यातायात आवागमन रोकिएको दिरुमझुवागढी ५ स्थित लफ्याङक्षेत्रको सडक साकेलाले मर्मत गरिदिएको हो ।


लगातारको वर्षाले कच्ची सडक कामै नलाग्ने गरी भत्किए पनि नगरपालिकाले मर्मत नगरेपछि बाध्य भएर आफुले मर्मत गरिदिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । बिग्रेको सडक समयमै मर्मत नगरेपछि यातायात अवरुद्ध हुँदा सदरमुकाम दिक्तेल आउजाउ गर्न बाधा परेकाले गाउँपालिकाकै खर्चमा मर्मत गरेर सडक सुचारु गएिको अध्यक्ष राईले बताए । 


साकेला मुकाम मानेभन्ज्याङदेखि पाँचधारे–मात्तिम–साप्सु खोला हुँदै दिक्तेल जोडिएको सडक भएर साकेलाबासी नागरिक सदरमुकाम आउजाउ गर्ने गरेका छन् । पाँचधारेदेखि मानेभन्ज्याङ–मामित्तम–साप्सुसम्मको खण्ड स्तरोन्नति भएकाले यातायात आउजाउ सहज भए पनि साप्सु पुल तरेपछि दिक्तेलसम्मको खण्ड कच्ची भएकाले सामान्य वर्षामै सडक बिग्रने गरेको छ । 


हल्का वर्षा हुनेवित्तिकै सडक बिग्रेर हिलाम्य र खाल्डाखुल्डी हुनाले लफ्याङक्षेत्र भएर नियमित यातायात आवागमनमा समस्या झेल्नुपरेको स्थानीय बताउँछन् । साकेलातर्फ राम्रो सडक भए पनि छिमेकी दिक्तेलतर्फको सडक बिग्रने गर्दा साकेला गाउँपालिकाबासीलाई सहज बनाउनकै लागि पनि नगरक्षेत्र प्रवेश गरेर सडक मर्मत गर्नु परेको अध्यक्ष राईले बताए । 


पटक पटक बिग्रने गर्दा पनि नगरपालिकाले सो सडक मर्मत गर्नेतर्फ कुनै चासो नदिदा साकेला गाउँपालिकाबासीलाई असहज हुने हुँदा यसअघि पनि सो क्षेत्रको स।डक साकेलाले मर्मत गरिदिएको थियो । गएको असारमा पनि यसरी नै उक्त क्षेत्रको सडक बिग्रेपछि अध्यक्ष राई नेतृत्वमा उपाध्यक्ष विर्सिका राई, वडाध्यक्षहरु गोविन्द तामाङ र जीवनखत्रीलगायत जनप्रतिनिधिसहित कर्मचारी, प्रहरी र सशस्त्र तथा स्थानीयबासीलाई जनश्रमदानमा खटाएर सडक सुचारु गराएका थिए । 


असारको साल तमामीका बेला सडक बिग्रदा सदरमुकाम आउजाउ गर्नै रोकिएको र नगरपालिकासँग आग्रह गर्दा चासो नदिएपछि अध्यक्ष राईले जनप्रतिनिधिसमेत गाउँलेलाई बोलाएर श्रमदान र स्काभेटर प्रयोग गरी मर्मत गरेर सडक सुचारु गराएका थिए । ३ महिनापछि अहिले फेरि सडकको उही हालत भएको र नगरपालिकासँग आग्रह गर्दा मर्मत नभएपछि साकेला आफै सडक बनाउन तम्सिएको हो । 


साकेलाले दिक्तेल बजारको अस्पतालचौकदेखि लफ्याङ हुँदै साप्सुखोलासम्मको सडक आईतबार दिनभरी लगाएर दोस्रो पटक मर्मत गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी ५ को लफ्याङक्षेत्रको करीव १० किलोमिटर सडक केहीदियताको वर्षाले क्षतविक्षत हुने गरी बिग्रेर सबैखाले सवारी साधन गुड्न नसक्ने अवस्था भएको थियो । 

 

गाउँपालिकाले आफ्नै स्काभेटर, ट्याक्टर र जनशक्ति प्रयोग गरी मर्मत गरेपछि सोमबार विहानदेखि यातायात सुचारु भएको गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले बताए । उनका अनुसार सो सडक दिक्तेलबजारदेखि साप्सु खोला हुँदै साकेलाको मानेभञ्ज्याङ–पाँचधारे जोडिएको छ । त्यसैगरी छिमेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका भएर उदयपुर सदरमुकाम गाईघाट हुँदै तराई जिल्लासम्म साकेलालाई जोड्ने सडक पनि त्यही हो । 

 

उतातर्फ साकेलादेखि दिक्तेल हुँदै राजधानी काठमाडौँँसम्म जाने रुट पनि सोही लफ्याङ सडक नै हो । यसरी ३ तिर जोडिएको नाका सडक नै वर्षाले बिगारेर समयमा मर्मत नगर्दा साकेलाबासी प्राकृतिक नाकाबन्दीमा पर्ने गरेका छन् । वर्षायाममा हिलोले गाडी फस्ने, चिप्लने तथा भासिने समस्या छ भने हिउदमा घुँडासम्म धुलो हुने हुँदा सो सडकको स्तरोन्नति चाँडो गर्नुपर्ने खाँचो स्थानीयले महसुस गरेका छन् । 


तर, साकेलाबासी नागरिकलाई जत्ति समस्या पर्छ, उत्ति दिक्तेल नगरबासीलाई नपर्ने हुँदा पनि यसको मर्मत र स्तरोन्नतिपतर्m त्यति ध्यान नगएको गुनासो अर्का वडाध्यक्ष गोविन्द तामाङको छ । उनले दिरु मझुवागगढीले छिमेकीको समस्यालाई आफ्नै समस्या ठानेर सो सडक मर्मत गरोस् भन्ने चाहे पनि उसले वास्ता नगर्दा अरुको सडक आफैले मर्मत गर्न साकेला गाउँपालिका बाध्य भएको हो । 


‘पहिला पनि यो सडक धेरै बिग्रेको थियो, नगरपालिकालाई कत्ति भन्दा पनि वास्ता गरेनन्, त्यसैले आफैले मर्मत गरियो’ वडाध्यक्ष तामाङले भने ‘यस पटक पनि फेरि बिग्रेर यातायात आवागमन नै रोकिएकाले पुनः मर्मत गरेका हौँै’ अध्यक्ष तामाङले भने । पहिलो स्काटेर, ट्याक्टर र अन्य हाते औजारसहित पुगेको टोलीले लफ्याङको छाप्रीडाँडा, दुवेक्षेत्रसम्मको सडक श्रमदान गरी मर्मत गरिएको उनले बताए । 


यो सडक साकेला गाउँपालिकाबासीलाई सदरमुकाम दिक्तेल बजारदेखि दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न तथा बिरामीलाई आकश्मिक उपचार गर्न लानका लागि एम्बुलेन्स आउजाउ गर्न पनि उत्तिकै महत्वपूर्ण छ । त्यसो भएकाले पनि बिग्रेको सडक नगरपालिकाले मर्मत नगरे पनि गाउँपालिका आफैले मर्मत गर्नुपर्ने आवश्यक्ता रहेको उपाध्यक्ष विर्सिका राई बताउँछिन् । 


उनका अनुसार यो सडक अवरुद्ध हुन पुगे साकेला गाउँपालिका पुरै प्राकृतिक नाकाबन्दीममा पर्ने गरेको छ । त्यसैले बिग्रे भत्केको बेला अर्को स्थानीयतह भए पनि आफैले मर्मत गरेर सुचारु गर्ने गरेको उपाध्यक्ष राईले बताईन् । प्राकृतिक नाकाबन्दीबाट बँच्न यो सडकको चाँडो मर्मत गर्नुपर्ने बरु साकेलाले के कति योगदान गर्नुपर्छ त्यो पनि गर्न तयार रहेको उनले बताएकी छिन् । 

 

गाउँपालिकाबासीको सहजताका लागि भएकाले नगरपालिकालाई सहयोग गर्न पनि आफैले सडक मर्मत गरेको पनि जनप्रतिनिधिहरुको भनाई छ ।