‘हरिश्चन्द्र स्मृति कप’को उपाधि कटारीलाई 

२ हप्ता अघि

२0८१ भाद्र २१ शुक्रबार
‘हरिश्चन्द्र स्मृति कप’को उपाधि कटारीलाई 

कटारी, भदौ २१

कटारीमा आयोजित ‘प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’को उपाधि त्रिवेणी नमूना मावि कटारीले चुमेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा सिन्धुलीको नमूना मावि लदाभीरलाई पराजित गर्दै त्रिबेणीले उपाधि कब्जा गरेको हो । 


स्थानीय कटारी टाईगर क्लबको आयोजना र स्व्र्गी हरिश्चन्द्र साहको परिवारद्वारा प्रायोजित प्रतियोगिताको फाईनलमा त्रिबेणीलाई टाईब्रेकरमा ४–३ को गोलको अन्तरले पराजित गर्दै त्रिबेणी उपाधिको हकदार भएको हो । 


टाईव्रेकरमा त्रिवेणीका खेलाडीहरु स्मीथ भुजेल, रितेश दनुवार, शुसेन ठकुरी र गगन अधिकारीको प्रहारले जाली चुम्दा राजु विकको प्रहार ‘मिस’ हुन गयो । लदाभीरका खेलाडीहरु टीका थापा मगर, समिर कुमर र सनिल कुमरको प्रहार मात्र गोलपोष्ट छिर्दा मनिष कुमर र जितलाल कुमरको प्रहार असफल भए । 


सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरको उपाधि त्रिवेणीकै स्मीथ भुजेलले पाए भने त्रिवेणीकै सुरेन्द्र मगर उत्कृष्ट गोल रक्षक भए । उदीयमान खेलाडीको उपाधि पनि त्रिबेणीकै सुनिल थापा घोषित भए । उत्कृष्ट मिडफिल्डर लदाभीरका मनिष कुमर घोषित हुँदा सर्वाेत्कृष्ट गोलकर्ताको उपाधि बालमन्दिर मावि वोक्से गाईघाटका लक्की राईले पाए । 


विजयी त्रिबेणी माविलाई ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता लदाभीरलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । शुक्रबार साँझै आयोजित समापन समारोहमा प्रमख अतिथि कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, सिन्धुलीको दुधौली नगरप्रमुख दिनेश अधिकारी दनुवार, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र स्वर्गीय हरिचन्द्र साहकी श्रीमति सुनिता साहले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 


उत्कृष्ट खेलाडी त्रिवेणीका स्मीथ भुजेललाई कटारी किचेन सञ्चालक रुक्जा राईले एकथान साईकल प्रदान गरेका छन् । आयोजक टाईगर क्लबका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १४ विद्यालयका खेलाडीको सहभागिता थियो । 


भदौ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत सामुदायिक र संस्थागत विद्यालयका छात्रहरुलाई प्रतिस्पर्धी बनाइएको खेल संयोजक तथा प्रशिक्षक रोहन जोशीले बताएका छन् । 


पुरस्कार वितरण गर्दै मेयर श्रेष्ठले यस्तो प्रतियोगिताले किशोर र बाल उमेरदेखि नै खेलकुद क्षेत्रमा लगाव बढ्ने भएकाले भविष्यमा राम्रा खेलाडीको जन्म हुने संभावना रहेको बताए । यस्तो खेलले मनौवैज्ञानिक र शारिरीक स्वास्थ्य दुवै रुपले खेलकुदप्रति लगाव बढाउने हुनाले भविष्यमा राष्ट्रियस्तरका व्यवसायिक खेलाडी बन्न मद्धत गर्ने अपेक्षा मेयर श्रेष्ठको थियो ।