सोरुङ घरभित्रै आमा–छोरा मृत, हत्याको आशंका

३ हप्ता अघि

२0८१ भाद्र २0 बिहीबार
सोरुङ घरभित्रै आमा–छोरा मृत, हत्याको आशंका

कटारी, भदौ २०

कटारी नगरपालिका १० नं. वडाको सोरुङछबिसेमा एकै घरका आमा छोरा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । स्थानीय अशोक थापाकी ३७ वर्षीया श्रीमति निर्मला थापा र ६ वर्षीय छोरा आरुस घरभित्रै विहीबार विहान मृत भेटिएको प्रहरीले जनाएको छ । 


स्थानीयहरुले घरभित्र आमाछोरालाई मृत अवस्थामा देखेपछि प्रहरी चौकी सोरुङछविसेमा खवर गरेका थिए । चौकीबाट खटेको टोलीले घरभित्र आमा छोरालाई रक्तमुछेल अवस्थामा मृत भेटेको इलाका प्रहरी कार्यालय कटारीले पुष्टि गरेको छ । भर्खृरै इप्रका कटारीका इन्स्पेक्टर उमेश महतो नेतृत्वको टोली घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । 


घरभित्र दुईजना मृत भेटिए बाहेक अन्य केही कुरा अहिलेसम्म नखुलेको इन्स्पेक्टर महतोले बताए । उनका अनुसार घट्ना राति घटेको हुनसक्ने र प्रकृति हेर्दा हत्याको आशंका गर्न सकिने भए पनि विस्तृत तथ्य खुल्न अहिले नै नसक्न उनले बताए । 


कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले घरभित्रै आमा छोरा मृत भेटिनु अत्यन्त दुःखद घट्ना भएको बताएका छन् । उनले घट्नाको सुक्ष्म अनुसन्धान गर्न पनि प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । मृतकका पति अशोक घरमा नरहेको र आमा छोरा मात्र बस्दै आएको मेयर श्रेष्ठले बताए । श्रीमान् दोस्रो विहे गरेर भारत पलायन भएदेखि निर्मला नाबालक छोरा आरुससँग बस्दै आएको उनले बताए ।