रेडक्रस स्थापना दिवसः ३७ जनाले रगत दिए 

३ हप्ता अघि

२0८१ भाद्र १९ बुधबार
रेडक्रस स्थापना दिवसः ३७ जनाले रगत दिए 

उदयपुृर, भदौ १९

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसमा आयोजित रक्तदान कार्यक्रममा ३ दर्जन हाराहारीले रगत दिएका छन् । सोसाईटी गाईघाट शाखा र त्रियुगा नगर उपशाखा (ख)को संयुक्त आयोजनामा गाईघाटस्थित लोकतान्त्रिक चोकमा बुधबार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 


‘रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवस’मा आयोजित कार्यक्रममा त्रियुगा नगरप्रमुख बसन्त बस्नेतलगायत ३७ जनाले रगत दान गरेको सोसाईटी उदयपुर शाखा सभापति मदनराज कटुवालले बताए । 


संकलित रगत रेडक्रस सोसाईटी उदयपुरद्वारा जिल्ला अस्पताल नजिकै सञ्चालित े रक्त सञ्चार केन्द्र (ब्लड बैँक)मा सुरक्षित राखिएको छ । ‘रक्त दान जीवन दान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेयर बस्नेतसँगै जनप्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, विद्यार्थी र सर्वसाधारणले रगत दान गरेका हुन् । 


रेडक्रस उदयपुरले जिल्लाबासीलाई निःशूल्क रगत उपलब्ध गराउने घोषणा गर्दै रक्तदान अभियान सञ्चालन गर्न थालेको छ । जस अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने सभापति कटुवालले बताए । संकलित रगत ब्लड बैँकमा जम्मा गरी आवश्यक पर्दा सबै विरामीलाई निःशूल्क उपलब्ध गराउने नीति अघि सारिएको पनि उनले बताए । 


सदरमुकाम गाईघाटस्थित ५० शैय्याको जिल्ला अस्पतालमा विशेषज्ञ सेवासहितको उपचार हुने हुँदा पछिल्लो समय रगतको अभाव हँने गरेको छ । सो समस्याबाट छुटकारा पाउन पर्याप्त रगत जोहो गर्ने उदेश्यले रेडक्रसले जिल्ला र मातहत सबै उपशाखामार्फत रक्त संकलन काय अघि बढाएको कटुवालले बताएका छन् । 


जिल्ला अस्पतालमा हाडजोर्नी, पायल्स, फिस्टुला, पत्थरी, एपेन्डीसाईटिस, हर्नियालगायत रोगको सफल सल्यक्रिया (अप्रेसन)सहितको उपचार हुदै आएको छ । त्यसैगरी जटिल खालका गर्भवती महिलाको अप्रेसन (सिएस) प्रणालीबाट बच्चा जन्माउने सेवा पनि विगत दशकदेखि अस्पतालमा हुँदै आएको छ । 


गर्भवती महिला र अन्य रोगको अप्रेसन गर्दा रगतको अभाव नहोस् भन्ने उदेश्यले सोसाईटीले यो अभियान चलाएको कटुवालले बताएका छन् । रक्तदान गर्ने र उनीहरुको परिवारलाई मात्र नभएर सबै सर्वसाधारण विरामीलाई आवश्यक पर्दा निःशूल्क रगत उपलब्ध गराउने गरी सोसाईटीले रक्तदान कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको हो ।