जनश्रमदान गरेर काठे पुल 

३ हप्ता अघि

२0८१ भाद्र १८ मंगलवार
जनश्रमदान गरेर काठे पुल 

उदयपुर, भदौ १८


खोटाङको साकेला गाउँपालिकामा श्रमदानमार्फत स्थानीय खोलामा काठको पुल निर्माण भएको छ । गाउँपालिकाको ३ नं.वडा खिदीमास्थित बोरा खोलामा स्थानीयको श्रमदानमा १२ मिटर लामो काठे पुल निर्माण भएको हो । 


जुनसुकै काममा सरकारको मुख ताक्ने प्रवृत्ति अन्त्य गर्ने उदेश्यले स्थानीयबासीले जनश्रममार्फत पुल निर्माण गरेको बताएका छन् । साकेला ३ का वडाध्यक्ष गाविन्द तामाङका अनुसार स्थानीय सल्ला र पात्ले जातको काठ प्रयोग गरी पुल बनाइएको छ । पुल बनाउन १ लाख ५० हजार मूल्य बराबरको सल्ला २० क्युविक फिट र पात्ले ३० गरी ५० क्युबिक फिट काठ प्रयोग भएको छ । श्रमदान भने ४० जना गाउँलेले लगातार ३ दिनसम्म गरेपछि पुल तयार भएको हो । 


पुल बनेपछि बोरा खोलामा वर्षायाममा स्थानीयबासी र विद्यालय आउजाउ गर्ने बालबालिकाको समस्या टरेको स्थानीय नवीन श्रेष्ठले बताए । उनका अनुसार हरेक वर्षामा विद्यालय आउजाउ गर्न नसक्ने गरी बोरा खोलामा बाढी आउँदा आउजाउ गर्न समस्या पर्ने गरेको थियो । 


गाउँले सबै जुटेपछि जनश्रमबाटै पुल बनाउन सफल भएको बोरा टोल विकास सँस्थाका अध्यक्ष नैनबहादुर खत्रीले बताए । उनले सरकारको आस गर्दा पुल बनाउने कुनै टुंगो नभएकाले गाउँलेहरु आफै जुटेर बनाएको बताए । 


गाउँपालिका अध्यक्ष रविप्रकाश राईले जनश्रम गरेर पुल बनाउनु उदाहरणीय भएको भन्दै प्रशंसा गरेका छन् । गाउँका सानातिना विकास निर्माणका काम यसरी नै  स्थानीयहरु मिलेर गर्ने गरे छिट्टै समृद्धि हात पर्ने उनले बताए । सबै कुरामा सरकारको मात्र मुख ताक्ने प्रबृत्ति अन्त्य गर्न गाउँलेहरुले उदाहरणीय काम गरेर देखाएको भन्दै श्रम सँस्कारको विकास गर्दै लाने कुरामा आफु पनि प्रष्ट रहेको बताए ।