लालपत्ताबाट अवैध सामानसहित चालक र जीप पक्राउ

३ हप्ता अघि

२0८१ भाद्र १७ सोमबार
लालपत्ताबाट अवैध सामानसहित चालक र जीप पक्राउ

उदयपुर, भदौ १७

मधेश प्रदेशको लाहानबाट सदरमुकाम गाईघाट ल्याउँदै गरेको लाखौँको अवैध सामानसहित चालक पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सप्तरीको सीमानाकामा प्रहरी चेकजाँचको क्रममा बिना बीलको सुर्ति र खाद्यान्नसहित चालक पक्राउ परेका हुन् । 


लालपत्ता प्रहरीले गरेको चेकजाँच क्रममा लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ७५५ नं. को पिकअप भेनमा अवैध सामग्रीसहित चालक सिराहाको लाहान नगरपालिका ४ का २२ वर्षीय सिकेन्द्र महतोलाई नियत्रन्णमा लिएको हो । 


उनीसँगै गाडीमा रहेको बिना बीलको चुरोट शिखर आईस ५५ बण्डल, सूर्य चुरोट १५ बण्डल, खुकुरी चुरोट २ सय बण्डल, विजुली चुरोट १ सय ८० बण्डल, पाईलट चुरोट १० बण्डल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी चकलेट २ कार्टुन, मंगलदिप चम्पा अगरबत्ती २ कार्टुन, सनफिस्ट डार्क फ्यान्टेसी बिस्कुट १ कार्टुन पनि बरामद भएको प्रहरी भनाई छ । 


बरामद सामग्री र गाडीसमेत गरी ११ लाख ३४ हजार मूल्य बराबरको अवैध सामग्री रहेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । सामग्री, गाडी र चालकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए ।