‘हरिश्चन्द्र स्मृति फुटबल’मा बालमन्दिर र लदाभीर सेमिफाईनलमा

३ हप्ता अघि

२0८१ भाद्र १५ शनिबार
‘हरिश्चन्द्र स्मृति फुटबल’मा बालमन्दिर र लदाभीर सेमिफाईनलमा

कटारी, भदौ १५


उदयपुरको कटारीमा जारी ‘हरिश्चन्द्र साह स्मृति फुटबल प्रतियोगिता ०८१’को शुक्रबारको खेलमा लदाभीर विजयी भएको छ । सिन्धुलीको नमूना मावि लदाभीरले सिन्धुलीकै दीपेन्द्र मावि जोगीडाँडालाई टाईब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गरेको हो । 


निर्धारित ६० मिनट मिनटको खेल अवधिमा दुवैपक्षबाट समान १–१ गोल बराबर भएर टुंगिएको थियो । खेल सुरु भएको १८ औँ मिनटमै लदाभीरका खेलाडी रबिन्द्र कुमारले गोल गर्दै टिमलाई अघि बढाएका थिए । निर्धारित समय सकिदासम्म दोस्रोपक्षबाट गोल नभएपछि ४ मिनट थपिएको अतिरिक्त समयको सदुपयोग गर्दै जोगीडाँडाका खेलाडी जित मगरले जवाफी गोल फर्काएर खेललाई बराबरीमा पु¥याए ।


दुवैपक्षको समान गोल भएपछि नतिजा निकाल्न टाईब्रेकरको सहारा लिनु परेको आयोजक टाईगर क्लब कटारीले जनाएको छ । टाईब्रकेरमा लदाभीरले प्रहार गरेको ५ वटै गोलले जाली चुम्न सफल हुँदा जोगीडाँडाको एउटा प्रहार ‘मिस’ हुन गएर पराजित हुनु परेको हो । खेलको म्यान अफ द म्याच लदाभीरकै टीका थापामगर घोषित भए । 


शनिबारको खेलमा त्रिबेणी मावि कटारी र कटारीकै प्रभात सेकेण्डरी स्कुलसँग प्रतिस्पर्धा हुने आयोजक खेल व्यवस्थापक ऋतिक तामाङले बताएका छन् । तामाङका अनुसार यो खेलसँगै लदाभीर सेमिफाईनलमा प्रवेश पाएको छ । नकआउट प्रणालीमा सञ्चालित प्रतियोगिताको शुक्रबासम्म सपन्न ८ खेलमा लदाभीरसँगै उदयपुरको बालमन्दिर मावि बोक्से पनि सेमिफाईनलमा पसेको छ । बालमन्दिरले अघिल्लो दिनको खेलमा जनता मावि गुराँसे त्रिबेणीलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो ।


कटारी टाईगर खेल मैदानमा भदौ ७ गतेदेखि सुरु प्रतियोगिता आगामी २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो चरणको खेल आउँदो आईतबार सकिने खेल प्रशिक्षक रोहन जोशीले बताएका छन् । उनका अनुसार उदयपुर र सिन्धुलीका विभिन्न स्थानीयतहका माध्यमिक विद्यालयका १४ खेल समूह प्रतियोगितामा सहभागी छन् । 


विजेता समूहलाई ३० हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा उपविजेतालाई २० हजार तथा उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्तालाई विधागत पुरस्कारको व्यवस्था पनि रहेको छ । कटारीका व्यापारी स्वर्गीय साहको स्मृतिमा उनका छोरा देवु साहले प्रतियोगिताको प्रायोजन गरेको आयोजक टाईगर क्लबका अध्यक्ष दिपक राईले बताएका छन् ।