अस्ताए प्रजातान्त्रिक योद्धा दयानन्द राई

३ हप्ता अघि

२0८१ भाद्र १४ शुक्रबार
अस्ताए  प्रजातान्त्रिक योद्धा दयानन्द  राई

खोटाङ, भदौ १४

खोटाङको शैक्षिक क्षेत्रमा लामो समय योगदान गरेका साकेला गाउँपालिका रतन्छाका शिक्षक दयानन्द राईको शुक्रबार निधन भएको छ । २००१ वैशाख १ गते खोटाङको साकेला गाउँपालिका २ रतन्छामा जन्मेका राईको ८१ वर्षको उमेरमा साविक रतन्छा गाविस ३, पिनालाखास्थित आफ्नै घरमा निधन भएको हो ।


उनको निधनमा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले गहिरो दुःख व्यक्त गरेका छन् । गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाध्यक्ष जीवन खत्री र वडाध्यक्ष जितेन्द्रकुमार राईसहित विभिन्न तहतप्काका व्यक्तित्वसहित समाधिस्थल पुगेका अध्यक्ष राईले किराँत धर्म संस्कार अनुसार मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


‘प्रजातान्त्रिक विचारका एक हौनहार र प्रजातान्त्रिक वौद्धिक तथा वैचारिक व्यक्तित्व दयानन्द राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ नेपाली काँग्रेस महासमिति सदस्यसमेत रहेका अध्यक्ष राईले मृतक राईको शवमा पार्टीको झण्डा ओढाउँदै श्रद्धा व्यक्त गरेका छन् । नशा सम्बन्धीको रोगका कारण अस्वस्थ भई काठमाडौमा उपचार गराईरहेका शिक्षक राईलाई बिहीबार मात्र हेलिकोप्टरबाट गाउँ ल्याइएको थियो ।


शिक्षक राई रतन्छाभरीकै पहिलो एसएलसी उत्तीर्ण व्यक्ति थिए । पारिवारिक स्रोतका अनुसार भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा २०१७ सालमा कक्षा ८ मा भर्ना भएका राईले २०२० को एसएलसी उत्तीर्ण गरेका थिए । २०२९ सालमा स्नातक (बिए) उत्तीर्ण गरेदेखि नै  स्थानीय सरस्वति मावि दिक्तेलमा अध्यापन गर्न थालेका राईले सोही वर्षदेखि साकेला मावि रतन्छामा प्रधानाध्यापकको रुप्मा सेवा गर्दै आएका थिए । 


सरस्वती माविपछि साकेला ५ मात्तिममा लामो समय प्रधानाध्यापक रहेका राई विद्योदय मावि दोर्पाचिउरीडाँडामा कार्यरत रहँदा अस्वस्थताका कारण २०५८ चैत्रबाट निवृत्तिभरणमा स्वैच्छिक अवकास लिएका थिए । उनीबाट शिक्षित विद्यार्थीहरु अहिले मन्त्रालयको सचिवदेखि सांसदसम्म राज्यको ठूलठूला ओहदा र उच्च पदस्थ व्यक्ति बन्न पुगेका छन् । 


उनले शैक्षिकक्षेत्रमा गरेको योगदान अतुलनीय र अपुरणीय रहेको अध्यक्ष राईले बताए । शिक्षण पेशा सुरु गर्नुअगाडि २०२३ सालदेखि चितवनमा जेटिए (कृषि प्राविधिक) भएर कृषि विकास कार्यालयमा झण्डै दुईवर्ष सेवा गरेको पनि परिवारले ज नाएको छ । खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीकी रामकुमारी राईसँग विवाह गरेका स्वर्गी राईका एक मात्र सन्तान छोरी निता राई छिन् । राईले रतन्छा गाविसमा स्थायी प्रहरी चौकी स्थापना गर्न ठूलो भूमिका खेलेका थिए । २०४५ सालमा जिल्ला शिक्षा समिति खोटाङको सदस्य मनोनयन, सोही वर्ष भूकम्प सेवा पदक प्राप्त गरेका पूर्व प्रधानाध्यापक राईलाई शैक्षिक क्षेत्रमा योगदान गरेको कदरस्वरुप २०५६ मा तत्कालीन राजाबाट सम्मान र पदकसमेत प्राप्त गरेका थिए ।


रतन्छाको इतिहासमा सरकारी सेवामा सबभन्दा ठूलो मानिने तत्कालीन राणा शासनमा पूर्व ४ नम्बर भोजपुर थुम रतन्छाको मेम्बरजस्तो प्रतिष्ठित पदमा आसिन शिवदत्त राईका छोरा थिए दयानन्द ।