पोखरीमा डुबेर मृत बालक आफन्तको जिम्मा

४ हप्ता अघि

२0८१ भाद्र १२ बुधबार
पोखरीमा डुबेर मृत बालक आफन्तको जिम्मा

उदयपुर, भदौ १२

मंगलबार प्रदेश सरकारले ‘रथ यात्रा’को सार्वजनिक बिदा दिएको हुनाले बालबालिका स्कुल जानु नपर्ने भयो । ७ वर्षीय रिचेश राई पनि २ साथीसँग नजिकैको पोखरीमा पौडी खेल्न गए । त्सँगै पौडी खेल्न पसेका उनीहरुमध्ये २ साथी निस्के तर, रिचेशको डुबेर ज्यान गयो । 


डुबेर ज्यान गुमाएका त्रियगा नगरपालिका ११ पिजीचोकका रिचेशको शव ३६ घण्टापछि पोष्टमार्टम भएको छ । मंगलबार विहान त्रियुगा १३ पूर्वपश्चिम बरुवा बसपार्कस्थित पोखरीमा डुबेर उनको ज्यान गएपछि स्थानीयले पोखरी भत्काउनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राख्दै बालकको शव बुझ्न इन्कार गर्दै आएका थिए । 


घट्नालगत्तैदेखि छलफलमा जुटे पनि बुधबार दिउँसो मात्र सहमति भएपछि शवको पोष्टमार्टम भएको हो । स्थानीयबासी, पीडितपक्ष, प्रहरी प्रशासन र नगरपालिकाबीच भएको छलफल बुधबार दिउँसो टुंगिएपछि पोष्टर्माटम गरिएको नगर उपप्रमुख महेश्वरी राईले बताईन् । 


वडा नं. ११ र १३ का वडाध्यक्ष, प्रहरी, प्रशासनका  प्रतिनिधि र स्थानीयबासीको सर्वपक्षीय छलफलले पोखरीको घेराबार र हेरचाहको व्यवस्था गर्ने, पीडित परिवारकी एक सन्तानलाई पठनपाठन गराउने, सदगत खर्चमा सहयोग गर्ने सहमति भएको उपमेयर राईले बताएकी छिन् । 


उनका अनुसार मृतक बालकका बाबु पक्षघातको बिरामी रहेको र गाईघाटमा डेरा भाडा लिएर बस्दै आएको बिपन्न परिवार हुनाले सक्दो सहयोग गर्ने निर्णय भएको छ । हाललाई बालकको शव पुख्र्यौली घर खोटेहाङसम्म लान शवबाहनको व्यवस्थादेखि सदगद गर्ने खर्चसम्म बेहोरिदिने तथा मृतककी एक मात्र दिदीलाई कक्षा १२ सम्म निशूल्क पठनपाठनको व्यवस्था मिलाउने सहमति भएको उपमेयर राईले बताईन् । 


अन्य सहयोग पनि सकदो गर्ने र त्यसका लागि थप छलफल गर्ने निर्णय पनि भएको छ ।