जनयुद्धमा सेल्टर दिनेलाई माओबादीको सम्मान

१ महिना अघि

२0८१ भाद्र ८ शनिबार
जनयुद्धमा सेल्टर दिनेलाई माओबादीको सम्मान

झापा, भदौ ८ 

नेकपा (माओवादी केन्द्र)ले जनयुद्धताका सेल्टर (आश्रय) दिने स्थानीयलाई सम्मान गरेको छ । पार्टीको भद्रपुर नगर कमिटीले जनयुद्धताका सेल्टर दिने २१ जना आश्रयदातालाई सम्मान गरेको हो ।


शनिबार आयोजित पार्टी नगर कमिटीको विशेष अधिवेशनमा भद्रपुर नगरक्षेत्रका २१ जना आश्रयदातालाई सम्मान गरिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सेल्टरदातालाई अवीर टिका र माला लगाउँदै सम्मानपत्र प्रदान गरे । 

 
सम्मानित हुने आश्रयदाताहरुमा धनबहादुर लोप्चन, धनराज लिम्बू, गीतादेवी भण्डारी, पर्शुराम लुइँटेल, होमनाथ पोखरेल, बाबुलाल विश्वकर्मा, डब्लु तामाङ, बिक्रम सुब्बा रहेका छन् । त्यस्तै तुला थापामगर, शिवकुमार महतो, छत्रबहादुर राजवंशी, धोविन राजवंशी, तुलारामसिंह राजवंशी, ढकेन्द्रसिंह राजवंशी, रामप्रसाद अधिकारी पनि सम्मानित भएका छन् । कृष्णप्रसाद खरेल, देवीप्रसाद खरेल, कुलप्रसाद खरेल, कमला राउत,  महेश घिमिरे र काँशीनाथ घिमिरेलाई पनि सम्मान गरिएको छ । 

 

आश्रयदातालाई सम्मान गर्दै पूर्वमन्त्री किरातीले भ्रष्टाचार सुशासनको प्रमुख शत्रु भएको बताए । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नहुने भन्दै भ्रष्टाचारविरुद्ध कारबाही र  सुशासनको पक्षमा काम गर्न खोज्दा प्रतिक्रियाबादी र पश्चगामी शक्तिहरुले माओवादी नेतृत्वको सरकार ढालेको बताए ।


२०४६ को आन्दोलन र जनयुद्ध मात्रले मुलुक र पार्टी बन्न नसक्ने धारणा राख्दै किरातीले नयाँ पुस्ता र युवाको चाहना अनुसार नीति कार्यक्रम ल्याउन पार्टीलाई सुझाए । 


नगर कमिटीका कार्यवाहक अध्यक्ष मेदनीप्रसाद शिवाकोटीले माओवादी नेतृत्वमा २०५२ फागुन १ देखि सञ्चालित १० वर्षे जनयुद्धको समयमा नेपालको राजनीतिक रुपान्तरणका लागि क्रान्तिकारी योद्धाहरुलाई सेल्टर दिएर क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए । 


कार्यक्रममा पार्टी केन्द्रीय सदस्य झलकसिंह दर्लामी (सन्देश), ्झापा जिल्ला समन्वय समिति सचिव मोहन टुडू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाली कांग्रेस जिल्ला सदस्य भक्त खवास, अनेमसंघ क्रान्तिकारी प्रदेश सदस्य शर्मिला खाती, नेकपा एसका सानुकुमार लामा र राप्रपाकी सीता लम्सालले शुभकामना मन्तव्य दिएका थिए । 


कार्यक्रममा पार्टी जिल्ला सदस्य नरपति लिम्बूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगर सचिव हंशधर राजवंशीले स्वागत मन्तव्य दिदा सञ्चालन महासचिव राजु दाहालले गरेका थिए । कार्यक्रममा माओवादी नेता डिल्लीराम घिमिरे (हिक्मत), राजु चुडाललगायत नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।