सरकारी गाडी दुरुपयोगमा युवा निगरानीः शनिबार ६ मोटरसाईकल पक्राउ 

१ महिना अघि

२0८१ भाद्र ८ शनिबार
सरकारी गाडी दुरुपयोगमा युवा निगरानीः शनिबार ६ मोटरसाईकल पक्राउ 

उदयपुर, भदौ ८

सार्वजनिक सवारी साधन दुरुपयोग रोकन उदयपुरका युवाहरुले खवरदारी अभियान थालेका छन् । सरकारी गाडीहरुको दुरुपयोग रोक्ने उदेश्यले थालिएको निगरानी अभियानको क्रममा शनिबार आधादर्जन मोटरसाईकल दुरुपयोग गरेको फेला परेको छ । 


युवाहरुको एक समूहले शनिबार दिउँसो गरेको निगरानीको क्रममा ६ वटा मोटरसाईकलसहित विभिन्न कार्यालयका कर्मचारी र सर्वसाधारण फेला परेको निगरानी टोलीका सदस्य लक्ष्मण राईले बताए । सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाएका उनीहरुलाई युवाहरुले केहीबेर रोकेर सोधपुछ गरी आगामी दिनमा त्यसो नगर्न चेतावनी दिएर छाडेको पनि राईले बताए । 


मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाटदेखि रौतामाई र उदयपुरगढी गाउँपालिका सीमास्थल संगम चोकसम्म निगरानी गरेका युवाहरुले त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका कर्मचारी तथा गैरकर्मचारीलाई सेतो नंबर प्लेटका मोटरर्साकलमा सवाररत अवस्थामा फेला पारेका थिए । 


युवाहरुको टोलीले को १ ब १९३२, स १ ब ८६८, स १ ब १२५०, स १ ब ०२१६, स १ ब १४१२, प्र १–०२–००१ ब ३३६५ र प्र १–०५–००१ नं. का मोटरसाईकल फेला पारेको थियो । सार्वजनिक बिदाका दिन सरकारी साधन चलाउने कर्मचारीसँग उनीहरुका परिवार, आफन्त र नातागोता सवार रहेको टोलीले जनाएको छ । 


युवाहरुले निगरानी गर्न थालेको जानकारी पाएपछि कतिपय चालक तिब्र गतिमा  भाग्ने प्रयास गरे पनि लामो दूरीसम्म पछ्याएर फेला पारेको टोलीले जनाएको छ । लामो दूरीसम्म पछ्याएर फेला पारेपछि सोधपुछ गर्दा कार्यालय कामले, पारिवारिक र आफन्तलाई लिफ्ट दिएको जवाफ टोलीलाई उनीहरुले दिएको टोली सदस्य नारायण दाहालले बताए । 

 

सरकारी सवारी साधनको चरम दुरुपयोग हुदै आएको पाइएपछि त्यस्तो प्रबृत्ति रोक्न निगरानी अभियान थालेको लक्ष्मण राईले बताए । सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु युवाहरुको कर्तव्य भएको भन्दै त्यसका लागि युवाहरु मिलेर निगरानी अभियान चलाएको उनको भनाई छ । 


राज्यले सरकारी कामकाजका लागि उपलब्ध गराएको स्रोत साधन व्यक्तिगत काम र व्यवसायिक लाभहानीमा प्रयोग गर्न नपाउने व्यवस्था भए पछि कानुनको धज्जी उडाएर चरम दुरुपयोग गर्ने गरेको पाइएकाले युवाहरुले निगरानी अभियान थालेको टोलीले जनाएको छ ।


आधिकारिक कार्यालयको अनुमति (पास) नलिइ सार्वजनिक सवारी साधन व्यक्तिगत काममा प्रयोग गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्नेहरुलाई पहिलो पटक सुझाव दिएर छाडेको टोलीले जनाएको छ । तर, अर्को पटकको निगरानीमा भेटिए कानुनी र जनस्तरमा कारबाही गर्ने चेतावनी दिएको टोलीले जनाएको छ ।


लक्ष्मण राईको अगुवाईमा परिचालित टोलीमा टीकाराम राई, भूवन राई, नारायण दाहाल, देशकुमार राई, सुरेन्द्र राई, सुशन दाहाल, वीरशेर राई र नयनराज राई सहभागी रहेको बताइएको छ । टोलीले आउँदो शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनहरुमा पनि सार्वजनिक साधनको दुरुपयोग गर्नेहरुको निगरानी राख्ने काम निरन्तर गर्दै जाने जनाएको छ ।